काठमाडौं । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवस का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विशिष्ट व्यक्तिलाई लुम्बिनीमा आमन्त्रण गरेर वृहत कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विदेशबाट समेत पाहुनाहरुको उपस्थिति रहने जनाईएको छ । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बुद्धजयन्ती भव्य रुपमा मनाइएको थियो । स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।
ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।