काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तथा सुशासन कायम गर्न भ्रष्टाचारको नियन्त्रणलाई सरकारले मूल प्राथमिकतामा राखेको बताउनुभएको छ ।
आज गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उहाँले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको र यस कार्यमा संलग्नहरुलाई पूर्वाग्रह नराखी काम गर्ने बताउनुभयो । नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगीमा संलग्न भएका जो कोहीलाई कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो । गृहमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध उहाँले चालेको कदमको प्रशंसा गर्नुभएको थियो ।
नक्कली शरणार्थीसम्बन्धी यो पछिल्लो अनियमितताको अझै अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याएर तार्किक निष्कर्षमा पु¥याउनसमेत नेताहरूले अनुरोध गर्नुभएको थियो । कांग्रेसका नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, रञ्जीत कर्ण, भूपेन्द्रजङ शाही, नरेश यादव, डा गोविन्द पोखरेललगायत आज अपराह्न गृह मन्त्रालय पुग्नुभको थियो ।