१० मंसिर २०८१, सोमबार 1732514530
पालिका

खोला सफा गर्ने बुनपा, जस पाउने बालेन

काठमाडौं । १४ बैशाखदेखि बुढानिलकण्ठ नगरपालिकाले सुरु गरेको धोवीखोला (रुद्रमती) सरसफाइ अभियानपछि सामाजिक सञ्जाल (फेसबुक, टिकटक)मा सरसफाईको तस्विर तथा भिडियो चर्चा छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले धोवीखोला सरसफाइको फोटो भिडियो प्रयोग गरिरहेका छन् ।

तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले यो सरसफाइ अभियानको आयोजगकलाई भने गलत प्रयोग गरिरहेका छन् । बुढानिलकण्ठ नगरपालिकाले १४ बैशाखदेखि १० दिने सफाइ अभियान सुरु गरेका थिए । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ‘बालेन’ शाहलाई क्रेडिट दिइरहेका छन् । उनीहरूले बालेनलाई धन्यवाद दिइरहेका छन् ।

धोवीखोलामा सरसफाई गरिरहेको डोजर र अन्य यन्त्रहरुको फोटो तथा भिडियो सामाजिक संजालमा राख्दै धेरैले मेयर शाहलाई धन्यवाद दिएका छन् । जुन, अभियानमा बालेनको कुनै भुमिका छैन ।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ को धोवीढुंगाबाट शुरु भएर काठमाण्डौ महानगरपालिकाको दक्षिणी भागमा पुगेर बागमती नदीमा मिसिएको धोवीखोलाको पाथिभरा–चुनिखेल खण्डको सरसफाई अभियान अहिले चलिरहेको छ । जुन काठमाडौं महानगरपालिकाको कार्यक्षेत्र भित्र पर्दैन ।

बुढानिलकण्ठ नगरपालिका १० देखि २ र १३ को नौलिन भद्रकालीसम्म भैरहेको सरसफाइ अभियानका तस्विर र भिडियो महानगरले गरेको भन्दै प्रचार भएको छ ।

काठमाडौंको मेयरको प्रसंसा गर्नु अन्यथा नभएपनि काम गरिरहेको बुढानिलकण्ठ नगरपालिकालाई प्रोत्साहन हुने गरी प्रचार गरिदिएको भए सुनमा सुगन्ध हुने बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिको भनाइ छ ।

सफाइ अभियान रुद्रमती हरियाली उपभोक्ता समितिको आयोजना र बुढानीलकण्ठ नगरपालिका तथा डिभिजन वन कार्यालयको सहकार्यमा सुरु भएको हो । अहिले निरन्तर खोला सफाइको अभियान भइरहेको बुढानिलकण्ठ नगरपालिकाले जनाएको छ ।

धोवीखोला सरसफाइ कार्यक्रमको नगरप्रमुख मिठाराम अधिकारी, डिभिजन वन कार्यालय अधिकृत बद्रि कुमार कार्की, विभिन्न वडाका पदाधिकारी, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, रुद्रमती हरीयाली उपभोक्ता समिति अध्यक्ष शम्भु कुमार श्रेष्ठलगायत नगरपालिका महाशाखा र शाखा कर्मचारी, समाजसेवी तथा स्थानीयवासिहरुको उपस्थितिमा अभियान सुरु भएको थियो ।