काठमाडौं। दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी-९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका छन्।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका-३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटना बिहान करिब पौने ७ बजेको समयमा भएको हो। घाइतेहरुलाई उपचारका लागि लमही लगिएको छ ।