हामी नेपालीमा कस्तो चेतना, विवेक र सपनाले बास गरेको छ र ? घरपरिवार र देश छोडेर, घरखेत बेचेर अमेरिका जानै पर्ने र राष्ट्रिय पहिचान त्यागेर अमेरिकी नागरिक बन्नै पर्ने प्रतिस्पर्धा चलेको छ। यो प्रतिस्पर्धामा रमाउने मनोविज्ञानलाई मानव तस्करहरूले धन कमाउने मेलो बनाएका छन्। त्यही मेलोको एउटा कुरूप रूप नक्कली भुटानी शरणार्थी प्रकरण हो। जसमा केही लोभीपापी राजनीतिक, प्रशासनिक र प्राज्ञिक नेतृत्वहरू संलग्न भएको देखियो। यसले समग्र राजनीतिक, प्रशासनिक र प्राज्ञिक क्षेत्रमाथि प्रश्न उठाउने मौका दियो।
अमेरिका जानका लागि गरिने खर्च यही लगानी गरेर उता पुगेर गर्ने जति मेहनत नेपाल मै गर्ने बानी बस्यो भने भोलिका दिनमा नेपालको सामाजिक आर्थिक अवस्थामात्र होइन राजनीतिक अवस्था पनि राम्रो र राज्यले दिने सेवा सुविधा पनि स्तरीय अथवा जनमुखी हुन थाल्ने थियो। अनि अमेरिकामा प्राप्त हुने भौतिक सेवासुविधा नेपाल मै उपभोग गर्ने वातावरण बन्ने थियो। जुन भूमिमा पसिना सिञ्चित गर्यो, त्यही भूमि मात्र उर्बर हुन्छ भन्ने चेतना हामी नेपालीमा अझै किन आएन ? नेपालको सम्वृद्धिमा नेपालीको प्रत्यक्ष योगदान गर्ने वातावरण खै ? यी दुई प्रश्नमा केन्द्रीत भएर बौद्धिक अर्थात प्राज्ञिक बहस चलाउनु पर्ने भएको छ।
नेपालको सम्वृद्धिमा नेपालीको प्रत्यक्ष योगदान नभएसम्म अन्य माध्यमबाट प्राप्त हुने दान, योगदान र सहयोगले एकातिर देश सम्वृद्ध बन्दैन अनि त्यसप्रति राज्य र जनताको अपनत्व बढ्दैन् भने अर्कातिर विकास निर्माणका कामहरू समयमा नै सम्पन्न हुँदैनन्, लागत बढ्छ मात्र होइन गुणात्मक नहुँदा दिगो पनि हुँदैन्। त्यसको बलियो उदाहरणका रूपमा मेलम्ची खानेपानी परियोजनालाई नै लिन सकिन्छ। त्यसैले यो कोणबाट सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने बौद्धिक र रचनात्मक बहस अनिवार्य भएको छ। ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ बनाउनका लागि नेपालीहरूको सकारात्मक र रचनात्मक भूमिका बढाउनु पर्छ। यसका लागि ‘नागरिक निर्यात गरेर वस्तु आयात गर्ने’ गलत आर्थिक नीतिको ठाउँमा सम्वृद्धि र प्रगतिमा नागरिकको भूमिका बढाउने नीति तथा कार्यक्रम लागु गरिनुपर्छ। साथै मानसिक रूपमा देशको प्रगतिमा प्रत्यक्ष योगदान गर्ने र त्यस्तो योगदान गर्ने अभ्यासमा रमाउने नागरिक तयार गर्ने शिक्षा तथा सामाजिक व्यवस्था लागु गर्नुपर्छ।
तर यतिखेर प्रचण्डको नेतृत्वको कम्फर्टेबल गठबन्धनको सरकारले ल्याएको नीति तथा कार्यक्रमले परम्परा त धान्यो तर भोलिको नेपाल कस्तो बनाउने भन्ने सवालमा बोल्न सकेन। मतलब यथास्थिति मै सामान्य सुधार गर्न खोजेको देखिन्छ। जसले देश र जनताका आजका प्रश्न र भोलिका अपेक्षालाई सम्बोधन गर्ने क्षमता राखेको देखिएन। नागरिक पलायन रोक्ने, जनतामा व्याप्त भ्रम हटाउने र आसा जगाउने काम यो नीति तथा कार्यक्रमले गरेको छैन्। अनि हामी पनि कुरै नबुझी जानेर वा नजानेर अनावश्यक रूपमा सम्वृद्धिको यात्रामा तगारो बनिरहेका छौं। भ्रमित भिंडको भाषाबाट प्रभावित र निर्देशित भएर गलत बाटोमा लाग्दैछौं। हामी किसानभन्दा शिक्षक, शिक्षकभन्दा कर्मचारी, कर्मचारीभन्दा बिचौलिया, बिचौलियाभन्दा माफिया र तस्करलाई ठूलो ठान्ने मनोविज्ञानबाट निर्देशित भइरहेका छौं। समाजमा गाई पाल्नेको भन्दा कुकुर पाल्नेको सम्मानपूर्वक चर्चा हुने गरेको छ।
सम्वृद्ध देश बनाउन हरेक नागरिक उत्पादन र सेवाका क्षेत्रमा संलग्न भएर आर्थिक गतिविधि गर्दा निश्चित मुल्यमान्यता र आदर्शहरूबाट निर्देशित हुनुपर्छ। दलाली गरेर प्राप्त हुने आर्थिक उपलब्धिले तत्काल लाभ भएतापनि दिर्घकालमा त्यसले नोक्शानी नै पुर्याउँछ अनि हामीमा परनिर्भरता पनि बढाउँछ। २०४६ को जनआन्दोलनपछिको नेपाली कांग्रेसको नेतृत्वको सरकारले लिएको गलत आर्थिक नीतिका कारणले अहिले हामी हरेक क्षेत्रमा परनिर्भर हुन बा्ध्य भएका छौं। यो परनिर्भरताको क्रम बढ्दो पनि छ र हामीलाई हिजोभन्दा आज सामाजिक(आर्थिक रूपमा कमजोर बनाउँदैछ। अझ कति कमजोर बनाउने होरु अनुमान गर्न नै कठिन छ।
समाज कस्तो बनाउने ? समाजलाई कुन भाष्य अर्थात चिन्तन प्रणालीको जगमा अघि बढाउने ? आर्थिक नीति कस्तो बनाउने ? प्रशासनिक र न्यायिक ढाँचा कस्तो हुनुपर्छ ? शिक्षा व्यवस्था कुन चिन्तन प्रणालीको जगमा विकास गर्नुपर्छ ? परराष्ट्र नीति र सम्बन्ध कस्तो बनाउनु पर्छ ? नागरिकको बढ्दो विदेश पलायन रोक्न राज्यको रणनीति के हुनुपर्छ ? देशमा बढ्दो परनिर्भरता हटाउन के के गर्नुपर्छ ? कुन राजनीतिक दर्शनले तुलनात्मक रूपमा बढी देश र जनताको स्वार्थ र हित हेर्छ ? ऐतिहासिक तथा पुरातात्विक महत्त्वका मठमन्दिर तथा पुराना दरबारहरूको संरक्षणमा कस्तो नीति र विधि अपनाउनु पर्छ ? देशका समस्याहरूको समाधान कसरी गर्ने ? आदि प्रश्नहरूमा केन्द्रीत भएर प्राज्ञिक वर्गहरूले बौद्धिक बहस चलाउने क्षमता देखाउन सक्नुपर्छ।
हामीले गएको ७ दशकको खास समयमा भएका राजनीतिक तथा आर्थिक गतिविधिहरूको समीक्षा र विश्लेषण गर्दा २०१७ सालमा डा. तुलसी गिरी प्रजातन्त्र मास्न त २०५२ सालपछि डा. बाबुराम भट्टराई प्रजातन्त्र मासेर नेपालमा नियन्त्रित अस्थिरता बढाउन सहयोगी बनेका थिए। अहिले डा. गिरी र डा. भट्टराईको बिंडो थाम्दै नेपालमा अमेरिकी स्वार्थ बलियो बनाउन डा. स्वर्णिम वाग्लेहरू प्रयोग भइरहेका छन्। डा. गिरी र डा. भट्टराईका कारणले प्रजातन्त्रमाथि निरङ्कुशता र हिंसा लादियो भने अहिले डा. वाग्लेलाई प्रयोग गरेर नेपालमा अमेरिकी स्वार्थ बलियो बनाउने पार्टी तयार गरेर नेपालको सार्वभौमिकता नै कमजोर बनाउन खोजिदैछ।
लोकतान्त्रिक गणतन्त्र जनमुखी र देशमुखी बनाउन शिक्षालयहरूबाट गुणस्तरीय शिक्षा पाउने, न्यायलयहरूबाट पीडक दण्डित हुने पीडितले न्याय पाउने र सरकारी कार्यालयहरूको कामबाट आमनागरिकले सुशासन अनुभव गर्न पाउने प्रणाली स्थापित हुनुपर्छ। आर्थिक नीति र व्यवस्था देशमुखी बनाउनु पर्छ। यसका साथै आमनागरिकको मनोविज्ञान देशको प्रगतिमा योगदान गर्ने र त्यसमा रमाउने बनाउनका लागि शिक्षा तथा सामाजिक व्यवस्था अनि प्रशासनिक, न्यायिक र आर्थिक प्रणाली पनि राजनैतिक तथा संवैधानिक व्यवस्था अनुरूपको हुनुपर्छ। यति भयोभने देशमा आसाको सञ्चार हुन्छ र विश्वासको वातावरण बन्न अनि देशको अवस्था सकारात्मक देखिन थाल्नेछ।
हामीले बुझ्नुपर्छ, नेतृत्व पनि यही समाजको उत्पादन हो। समाज असल नबनेसम्म नेतृत्व असल पाउन सकिदैन्। समाज र नेतृत्व असल बनाउन नागरिक पनि असल हुनुपर्छ। असल नागरिक तयार गर्न असल र गुणस्तरीय शिक्षा नै चाहिन्छ। यसका लागि शिक्षा तथा सामाजिक व्यवस्थामा आमूल परिवर्तन गरिनुपर्छ। अहिले त हामी आयातित मुद्दा र सस्तो लोकप्रियतावादी राजनीतिमा रमाएर देशको बहुमुल्य समय बर्बाद गरेर देशमा बाह्य स्वार्थ पूरा गर्नेगरी राज्य सञ्चालनमा सघाइरहेका छौं। राजनीतिको अन्तर्य र वैचारिक पक्ष नबुझी लहलहैमा लागेर समयको माग र देशको आवश्यकता विपरीत गतिविधि गर्न सहयोगी बनिरहेका छौं। जसले गर्दा देशमा समस्या समाधानमा भन्दा हामीले समस्या बल्झाउनमा मुख्य भूमिका खेलिरहेको स्पष्ट अुनभव गर्न सक्छौं।
२०६२÷२०६३ को जनआन्दोलनपछि नेपालको राजनीतिमा २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा जनताले लहलहैमा लागेर, त्रासमा परेर र आस गरेर प्रचण्डको नेतृत्वको नेकपा माओवादीलाई अस्वभाविक रूपमा जिताउँदा अहिले प्रचण्ड र माओवादी देशका लागि टाउको दुखाईको विषय भएको छ। २०७९ सालको आमनिर्वाचनमा रवि लामिछानेको नेतृत्वमा गठन भएको विचार र गन्तव्यहीन पार्टी रास्वपालाई जनताले फेरि अस्वभाविक मत दिंदा देशका लागि अर्को समस्या बन्ने खतरा बनेको छ। तर हामी जनताले त्यसलाई परिवर्तन ठानेका छौं किनभने हामीहरू भ्रममा परेर भावनात्मक रूपमा भड्किएर अनि कमजोर भएर निष्कर्षमा पुग्ने गरेका छौं।।
जब जनताले भ्रम र त्रासमा परेर अनि खराब पक्षसँग अस्वभाविक आस गरेर आफ्नो मताधिकार प्रयोग गर्ने गलत निष्कर्षमा पुग्छन्, त्यतिखेर वैचारिक राजनीति कमजोर हुन्छ र देशको अवस्था अस्थिर बन्छ। अहिले नेपालमा ठ्याक्कै त्यस्तै भएको छ। केही कमजोरी र विगतका गलत निर्णयका बावजुद नेपाली कांग्रेस र नेकपा एमाले वैचारिक रूपमा स्पष्ट धार भएका पार्टीहरू हुन्। नेपाली कांग्रेसले बुर्जुवा दक्षिणपन्थी लोकतन्त्रको पक्षमा राजनीति गरिरहेको छभने नेकपा एमालेले परिपूर्ण लोकतन्त्रको पक्षमा राजनीति गर्दैछ त राप्रापाले परम्मपरावादी राजतन्त्रात्मक व्यवस्था खोजेको छ। तर रास्वपालगायतका पार्टीहरूको न वैचारिक धार स्पष्ट छ न त मुख्य नेतृत्व नै समाजका लागि अनुकरणीय देखिन्छन्। तिनीहरूमा अवसरवाद हावी भएको पाईन्छ। भोलिका दिनमा यो अवसरवाद देशका लागि अर्को मुख्य समस्या बन्नेछ। माओवादी अध्यक्ष प्रचण्ड र उनको उपयोगितावाद मुख्य समस्या बनिरहेको हामीले प्रत्यक्ष अनुभव गरिरहेका छौं।
देशका लागि अवसरवाद बुर्जुवा दक्षिणपन्थी पुजिंवादभन्दा खतरा हुन्छ। अवसरवादले भ्रमपूर्ण सस्तो लोकप्रियतावाद र भ्रमित भिंडको आवाजलाई आदर्श ठान्छ। अहिले देश नेपाली कांग्रेसको बुर्जुवा दक्षिणपन्थी पुजिंवाद, प्रचण्डको उपयोगितावाद र रवि लामिछाने अर्थात डा। स्वर्णिम वाग्लेहरूको अवसरवादका कारणले पीडित बनाएर सम्वृद्धिको यात्रामा सङ्कट निम्त्याउँदैछन्। यी तीन पक्षले अपराधलाई राजनीतिकरण गरेर अपराधीलाई कहिले जातको नाममा जोगाउन खोज्छन् त कहिले क्षेत्रीयताको नाममा अनि हिजोआज नयाँ र परिवर्तनको आवरणमा जोगाउने प्रयास गर्दैछन्। रेशम चौधरीलाई ज्यान मुद्दाबाट जोगाउन र रवि लामिछानेलाई राहदानी प्रकरणमा मुद्दा नचलाउने प्रयास त्यसकै प्रमाणका रूपमा लिन सकिन्छ।
अहिले समाज अर्थात नयाँ पुस्ता विचारहीन पार्टी अनि चरित्रहीन र नैतिकताविहीन नेतृत्व अनि अराजक र स्वछन्दवादीहरूको प्रभावमा पर्न खोजेको लक्षण देखिएको छ। यतिबेला जननेता मदन भण्डारीको वैचारिक नेतृत्वको अभाव देशले महसूस गरिरहेको छ। किनभने राजनीतिक नेतृत्व वैचारिक र नीतिगत रूपमा स्पष्ट हुन सकेन भने देशमा विचारहीन पक्षले आफ्नो प्रभाव र दबाव बढाउनु अस्वभाविक होइन। “आज हाम्रो समाजमा वैचारिक पक्ष कमजोर र सांस्कृतिक विचलन बढ्दा धार्मिक अतिवाद र धर्मान्तरणका गतिविधिहरू बढ्न थालेका छन्। यसले एकातिर राजनीतिमा अराजकता, स्वछन्दता र भ्रमपूर्ण सस्तो लोकप्रियतावाद हावी हुँदैछभने अर्कातिर सांस्कृतिक र राजनीतिक रूपमा देशलाई कमजोर बनाएर नियन्त्रित अस्थिरता बढाईंदैछ।” चेतना भया ।