काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै उनले ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन् । त्यही विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट भारतको चार दिने औपचारिक भ्रमणमा जाँदैछन । प्रधानमन्त्रीको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मन्त्रिपरिषद् बैठकले नै निर्णय गरेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेको थियो ।
भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका थिए । राष्ट्रपतिमा निर्वाचित भईसकेपछि रामचन्द्र पौडेलले यो दोस्रो विवादित निर्णय गरेका छन । यसअघि सर्वोच्च अदालतले जन्मकैद फैसला सुनाएको रेशम चौधरीलाई आममाफी दिने फैसला भएको थियो । राष्ट्रपति भण्डारी पछिल्ला समय सरकारको दबावमा एकपछि अर्को विवादित निर्णय गरिरहेका छन् ।
प्रधानमन्त्री दाहाल आज दिउँसो १ : ३० बजे नेपाल एयरलायन्सको जहाजबाट भारत जार्दैछ ।