काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् । प्रधानमन्त्री दाहालले सो मन्दिरमा आठ वटा लगेजमा लगिएको १०८ किलो रूद्राक्षसमेत चढाएका छन् ।
महाकालेश्वर मन्दिर भारतको बाह्र ज्योतिर्लिंग मध्ये एक हो।
भारत भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्य प्रदेश पुगेका हुन् । मध्य प्रदेशको इन्दौरमा प्रधानमन्त्री दाहाललाई त्यहाँका मुख्यमन्त्री शिवराज चौहानले स्वागत गरेका थिए । इन्दौरको फोहोर व्यवस्थापनको विषयमा पनि अवलोकन भ्रमण गर्ने प्रधानमन्त्री दाहालको कार्यक्रम रहेको छ ।
दाहाल शुक्रबार इन्दौरको होटल मेरियटमा बस्नेछन् । त्यहाँ उले मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग भेट गर्नेछन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको पनि आयोजना गर्नेछन् । दाहाल शनिबार दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।