काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विपक्षमा नरहेको स्पष्टीकरण दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा विरोध गरेको थियो । त्यस विषयमा स्पष्टीकरण दिँदै लामिछानेले आफूहरुले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने आफूहरुको धारणा रहेको बताए । सदनमा छलफलमा ल्याएको भए विधेयकमाथि छलफल गरेर केही योगदान गर्ने र स्वामित्व लिन पाइने भनाइ आफूहरुको रहेको लामिछानेले बताए । लामिछानेले नागरिकले नागरिकता नपाउनुको पीडा समेत थाहा भएको भन्दै नेपाली नागरिक र एकल आमाका सन्तानको अधिकार सुनिश्चित हुनुपर्ने बताए ।
बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सभापति लामिछानेले भने, ‘नागरिकता विधेयकमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर नागरिकलाई गुमराहमा राख्न खोजिएको छ ।’
सञ्चारमाध्यममा आएका विषयकै कारण संसद् अवरोध गर्न नहुने भन्दै त्यसको तथ्य जाँच गरेर स्पष्ट हुनुपर्ने उनको भनाइ थियो । खर्च कटौतीका नामका कतिपय संस्थाको महत्वलाई नजरअन्दाज गर्न नहुने रविको सुझाब थियो । सभापति लामिछानेले नागरिकताका सन्दर्भमा आफ्नो पार्टी कुनै पनि समुदायप्रति पक्षपाती नभएको समेत बताए ।