चितवन । नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (डिएलए)को ११औँ महाधिवेशनले सीताराम केसीको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । केसीले छ सय ५३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी लक्ष्मीदेवी दाहाल रावलले एक सय ७७ मत प्राप्त गर्नुभयो । यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार केदार कार्कीले एक सय ३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भुसालले ५३ मत प्राप्त गर्नुभएको थियो ।
आज बिहान सम्पन्न मतगणनाअनुसार वरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल विजयी हुनुभएको छ । उहाँले तीन सय १५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी चन्द्रमणि अधिकारीले दुई सय ६४ मत प्राप्त गर्नुभयो ।
महिला उपाध्यक्षमा कविता थापा कार्कीले छ सय १९ मत प्राप्त गर्दा प्रतिस्पर्धी दीना श्रेष्ठले चार सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । यस्तै बागमती प्रदेश उपाध्यक्षमा जनराज श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले एक सय ४३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी हेमन्तराज दाहालले एक सय नौ मत प्राप्त गर्नुभएको छ ।
कोशी प्रदेश उपाध्यक्षमा कविता बस्नेत, मधेश प्रदेश उपाध्यक्षमा रामानन्द साह, गण्डकी प्रदेश उपाध्यक्षमा भूमिश्वर शर्मा गौतम, लुम्बिनी प्रदेश उपाध्यक्षमा विष्णुप्रसाद धिताल, कर्णाली प्रदेश उपाध्यक्षमा पदमबहादुर शाही र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा गङ्गाराम पाध्याय निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक हेमराज नेपालले जानकारी दिनुभयो ।
समितिका संयोजक नेपालका अनुसार महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी विजयी हुनुभएको छ । उहाँले तीन सय ९५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी पूर्णप्रकाश बस्नेतले दुई सय ३६ मत प्राप्त गर्नुभएको थियो । यस्तै सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवतर्फ धनमाया राना, कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित हुनुभएको छ ।
महाधिवेशनमा देशभरका ८८ एकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट एक हजार चार सय १० जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए । यसमध्ये एक हजार ६१ मत खसेको थियो ।
महाधिवेशनको यही जेठ २६ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।