९ मंसिर २०८१, आइतबार 1732433390
Banner

प्रधानमन्त्रीले राजीनामा दिनु उपयुक्त हुन्छ: ज्ञानेन्द्र शाही

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्नुभएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथि छलफल सकिए लगत्तै सभामुखसँग समय लिएर शाहीले व्यक्तिगत रुपमा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्नुभएको हो।

शाहीले प्रधानमन्त्री प्रचण्डको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गर्नुभयो ।

अदालतमा उपस्थित हुँदा प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री वा पुष्पकमल दाहालको हैसियतमा उपस्थित हुनुहुन्छ ? भन्दै प्रश्न समेत उहाँले प्रश्न गर्नुभयो ।

शाहीले अपराध जस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउनु भयो। उहाँले प्रधानमन्त्री नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने बताउनु भयो।   

उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा नियमावलीको २०६९ को नियम २६ अन्तर्गत प्रधानमन्त्रीज्यू यो संसदको सदस्य पनि हो । तर, प्रधानमन्त्रीको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराज जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ। सर्वोच्चले ३० गते हाजिर हुनु भनेर पत्र काटिसकेको छ। म सोध्न चाहन्छु ३० गते प्रधानमन्त्री अदालत जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल भएर जानुहुन्छ युद्ध अपराध जस्तो कुरामा अदालतमा जाने जस्तो कुरामा देशले अपराध गरेको होइन, व्यक्तिले गरेको हो। प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ। नैतिकताको आधारमा पनि पदमा बस्न मिल्दैन।’