काठमाडौं । चैत १२ गतेबाट सुरु भएको नक्कली प्रकरण प्रक्रिया जेठ अन्तिमसम्म पनि जारी छ ।
सोही प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको तर्फबाट मंगलबारमात्र १० जना वकिलले बहस गरेका छन् । उनको तर्फबाट गर्ने बहस आज सकिने आकलन गरिएको छ ।
बुधबार नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई फसाउनकै लागि प्रहरीले आफैं प्रमाण खडा गरेको जिकिर गरेका छन् ।
खाणको पक्षमा बहस गर्दै घिमिरेले प्रहरीले पक्राउ परेका प्रतिवादीहरुलाई दबाबमा राखेर पटकपटक बयान लिएको र सोही क्रममा खाणको नाम जबरजस्ती पोल्न लगाइएको जिकिर गरेका छन् ।
केशव दुलालले खाणलाई गृहमन्त्रालयमा पुगेर बुझाएको भनिएको १ करोड २४ लाखको पनि कुनै प्रमाण नभएको उनको दाबी छ । दुलाललाई प्रहरी हिरासतमा जबर्जस्ती बयान गर्न लगाइएपनि पछि इन्कारी बयान दिएको घिमिरेको भनाइ थियो ।
उनले भने, ‘प्रहरीले खाणविरुद्ध प्रमाण आफैँ बनाएर फसाएको छ । केशव दुलालले १ करोड २४ लाख गृहमन्त्रालयमा लगेर बुझाएको प्रहरीलाई बयान दिएका थिए । अहिले उनले इन्कारी बयान दिएका छन् । जबर्जस्ती कसैले बोलेको भरमा कुनै प्रमाण नै नपुगी फसाउन पाइन्छ ? केशव दुलालले गृहमन्त्रालय पुगेर पैसा दिएको भनिएको छ । उनी कुन बेला मन्त्रालय छिरेका थिए ? कुन झोला बोकेर हिँडेका थिए ? कति बेला निस्के ? कुन गाडीमा गएका थिए ? भन्ने कुरा राख्नुपर्दैन । कसैले भनेका आधारमा थुन्न पाइन्छ ?’
त्यसैगरी शरणर्थीका नेता टेकनाथ रिजालको तर्फबाट बहसका लागि नाम टिपाएका वकिलको बहस आजैबाट हुने जिल्ला अदालतले जनाएको छ । खाँणको तर्फबाट बहस सकिएपछि उनको बहस सुरु हुने कार्यसूची छ ।
जिल्ला अदालतका अनुसार अब सुनुवाइ हुन बाँकी रहेका आरोपितहरू बालकृष्ण खाण, टेकनाथ रिजाल, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मियाँ र आङ्टावा शेर्पा रहेका छन् ।
प्रतिवादीहरुको तर्फबाट वकिलेले बहस सकेपछि सरकारी वकिलहरुले जवाफी बहस थाल्ने कार्यसूची छ । सोपश्चात् फैसला आउने अदालतले जनाएको छ ।
गतसातबाट सुरु भएको थुनछेक बहस नटुंगिदा सुनुवाइ लम्बिँदै भन्दै आलोचनासमेत हुने गरेको छ ।
शरणार्थी प्रकरणमा अहिलेसम्म के भयो ?
१० जेठः ३० जना आरोपितविरुद्ध मुद्दा दायर
८ जेठ प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो
२ जेठ: भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो
१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित
३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ
३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप
२७ वैशाख: पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ
२७ वैशाख: पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन
२० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
२० वैशाख: रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ
२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी
१९ वैशाख: पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ
१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ पक्राउ