२६ मंसिर २०८१, बुधबार 1733951154
Banner

चिनियाँ विदेश मन्त्री तीनदिने नेपाल भ्रमणमा आज आउँदै

काठमाडौँ । चीनको राज्य परिषद्का सदस्य एवं विदेश मन्त्री वाङ यी औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । उहाँ आज साँझ ६ बजे विशेष विमानमार्फत काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिण एशियाका पाकिस्तान, अफगानिस्तान र भारतहुँदै वाङ नेपाल आउन लाग्नुभएको हो । परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा वाङले गर्न लागेको नेपाल भ्रमणका क्रममा पुराना सम्झौतालाई कार्यान्वयन गर्न करिब एक दर्जन बिषयमा सम्झौता गर्ने गृहकार्य भईरहेको छ । विदेशमन्त्री वाङले भ्रमणका क्रममा शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट गर्नुहुनेछ । आइतबार बिहान ९ बजे वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ। त्यसपछि उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पालैपालो भेट्ने कार्यक्रम तय भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा मर्यादाक्रममा उपप्रधानमन्त्रीभन्दा माथिको ओहोदामा रहनुभएका विदेश मन्त्री वाङ पेशेवर कूटनीतिज्ञ हुनुहुन्छ । नेपालका पुराना मित्र उहाँ नेपाल र नेपालीका विकासका आकाङ्क्षाबारे जानकार पनि हुनुहुन्छ । उहाँको यो भ्रमण दुई देशबीचको सहकार्यात्मक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन उपयोगी हुने ठानिएको छ ।

नेपालको राष्ट्रिय हित र विकासका आवश्यकता र प्राथमिकतालाई विश्वको उदीयमान प्रमुख शक्ति राष्ट्र चीनसँग साझेदारी र सहयोग अभिवृद्धिलाई नै सरकारले छलफलको कार्यसूची बनाएको छ ।

नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी सन् २०३० सम्ममा मध्यम आययुक्त मुलुक बनाउने तथा दिगो विकासका लक्ष्य प्राप्त गर्ने नेपालको विकासका ‘एजेन्डा’ लाई टेवा दिने हिमालय पार बहुआयामिक सम्पर्क सञ्जाल संरचनाभित्र बन्दरगाह, सडक, रेलमार्ग, हवाई यातायात तथा सञ्चारजस्ता महत्त्वपूर्ण संरचना विस्तार गर्न चीनले अघि सारेको बहु–अर्ब डलरको विशाल पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयन विषयमा केन्द्रित रहेर विदेश मन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले गहन छलफल गर्ने परराष्ट्रका एक अधिकारीले बताए ।

बिआरआई कार्य ढाँचा सम्झौतामा नेपालले हस्ताक्षर गरेको पाँच वर्ष भइसकेको सन्दर्भमा त्यसलाई कार्यान्वयन गर्ने चिनियाँ प्रतिबद्धताको सन्देश प्रवाह गर्न विदेश मन्त्रीको भ्रमण हुन लागेको उहाँको भनाइ थियो । चीनले बीआरआईको परियोजना कार्यान्वयन योजनालाई अन्तिम स्वीकृतिका लागि नेपालसँग प्रस्ताव गरिसकेको छ भने त्यसलाई यही भ्रमणका क्रममा टुङ्गो लगाउने नेपाल सरकारको तयारी छ ।

नेपाल र चीनका विदेशमन्त्रीबीच शनिवार हुने वार्तामा नेपाली पक्षले एक दशकभन्दा लामो समयदेखि रोकिएको सिमानाको संयुक्त निरीक्षण, नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी पूर्ण रूपमा खोल्न, हवाई उडान पुनः सञ्चालन गर्न अनुरोध गर्नाका साथै कोभिड–१९ को महामारीका कारण एकाएक स्वदेश फर्किनुपरेका विभिन्न चिनियाँ विश्वविद्यालयमा भर्ना भएका नेपाली विद्यार्थीले भोग्नुपरेको समस्या समाधान, २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमण र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका विगतका सम्झौताको कार्यान्वयनलगायत विषयलाई नेपालले उठाउने ती अधिकारीको भनाइ थियो ।

चिनियाँ विदेश मन्त्रीको भ्रमणका बेला नेपालबाट घाँस निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर हुनेछ भने प्राविधिक तथा आर्थिक सहयोगअन्तर्गत नेपाललाई थप चिनियाँ अनुदान प्राप्त हुने भएको छ ।