९ असार २०८३, मंगलबार 1782269570
Banner

कार्यकर्ता तथा समर्थकलाई असहिष्णु भएर गालिगलौजमा नउत्रिन रबिको आग्रह

काठमाडौं। सामाजिक संजालमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा समर्थकहरू असहिष्णु भएर गालिगलौजमा उत्रिएको टिप्पणी भइरहेका बेला रवि लामिछानेले अब यस्तो व्यहोरा नदेखाउँन आग्रह गरेका छन् ।

रास्वपा धादिङ काठमाडौं सम्पर्क भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति लामिछानेले समर्थकबाट तल्लोस्तरमा गएर गागिलौज गर्दा पार्टी र नेताहरूलाई अप्ठेरो पर्ने गरेको बताए ।

उनले भने– ‘हामीमाथि सामाजिक संजालमा अशहिष्णु टिप्पणी गर्ने, असाध्यै गालिगलौज गर्ने गरेको आरोप छ । तपाईहरूले त्यस्तो गरिदिँदा दलका नेतालाई असर गर्छ । हामीलाई माया गर्ने, समर्थन गर्ने साथीहरूसँग बिन्ति नगरे मैले कसका अगाडि गर्ने ? हामीले घृणा फैलाउने होइन । आलोचनालाई तल्लो तहमा गएर टिप्पणी गर्न हुन्न ।’

लामिछानेले माया गर्न पनि जान्नुपर्ने भन्दै रास्वपा समर्थकले आफ्ना नेताहरूका बारेमा आएका टिप्पणीबाट असाध्यै चित्त दुःखाएर गाली गर्दा सामाजिक संजाल नै डिएक्टिभ गरेर हिड्ने अवस्था आउन नहुने बताए । उनले तर्कहीन मान्छेले मात्र गालिगलौज गर्ने बताए ।