१० कार्तिक २०८१, शनिबार 1730002594
Banner

एसीसी यू-१६ मा नेपालको ह्याट्रिक

काठमाडौं। ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ।

आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो। एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो।

नेपालविरुद्ध २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ‌ओभरमा मात्र ३१ रन बनाएर आउट भयो। मलेसियाका मोहमद अक्रमले १० रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर स्कोरमा रन नै बनाउन सकेनन्। मलेसयाका ५ जना ब्याटरले खाता खेल्न सकेनन्।

नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए। ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र दिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको शतक मद्दतमा ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनाएको थियो।

नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्बाधिक अविजित ११२ रनको योगदान गरे। उनले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाए।

नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए। नेपालले २६ रन अतिरिक्त पायो।

मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एकएक विकेट लिए।