११ कार्तिक २०८१, आइतबार 1730016988
Banner

भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत जाँदै माओवादी नेताहरू

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का निमन्त्रणामा नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा जाने भएका छन् । सत्ताहरूढ भाजपाले आफ्नो पार्टीको कार्यक्रममा नेपालको सत्तारुढ पार्टी माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणको निमन्त्रणा गरेपछि उनीहरू भ्रमणमा जान लागेका हुन ।

भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन्।

भाजपा विदेश विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमन्त्रणमा निकट भविष्यमै माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका हुन ।

विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले भारतमा बोलाएर पार्टीको गतिविधिबारे जानकारी गराउने गरेको छ।

नड्डाले भनेका छन्, ‘विभिन्न देशका राजनीतिक पार्टीहरूसँग आफ्नो सम्बन्ध बढाउने उद्देश्यका साथ हामीले विभिन्न देशका राजनीतिक दलहरूको प्रतिनिधिहरूलाई यहाँ भारतमा बोलाउने गरेका छौँ र हाम्रा पार्टीका प्रतिनिधिहरू विभिन्न देशहरूमा जाने गरेका छन्।’