७ मंसिर २०८१, शुक्रबार 1732315419
Banner

चेहरा, चरित्र र चेष्टा ठीक नभएकाहरू भ्रमको राजनीतिमा रमाउँछन्

आज बौद्धिक वर्गले राजनीतिमा देखिएको कम्फर्टेबल अवसरवाद र आत्मसमर्पवाद अनि भ्रमपूर्ण लोकप्रियतावादका विरूद्ध आफ्ना क्षमताहरू प्रयोग नगरिदिंदा नेपालको राजनीतिमा चेहरा, चरित्र र चेष्टा ठीक नभएका पात्र र प्रवृत्तिले आफूलाई बलशाली ठान्दैछ । त्यसैले त उनीहरू यतिबेला जनतालाई भ्रममा पारेर अनि भावनात्मक रूपमा भड्काएर र कमजोर बनाएर मात्रै आफ्नो राजनीतिक धरातल बलियो हुने मनस्थितिमा देखिन्छन्। उनीहरू यतिखेर सञ्चार, सञ्जाल र सडकबाट जनतालाई भावनात्मक रूपमा भड्काउन र कमजोर बनाउन भ्रामक तथ्यहरूको साहारा लिदैछन् ।

बालेन शाह र रवी लामिछानेहरूको राजनीतिमा प्रवेशको आधार जनतामा बढेको वितृष्णा र भ्रम नै हो। जबसम्म यो वितृष्णा र भ्रम जनतामा कायम रहन्छ, तबसम्म उनीहरूको भ्रमपूर्ण लोकप्रियतावादी राजनीति चलिरहन्छ । किनभने बालेन र रवीहरू आफ्नो असल र सबल पक्षको जगमा राजनीति गर्ने नैतिक सामर्थ्य राख्दैनन्। तर जनताले यीनका असली चेहरा, चरित्र र चेष्टा चिन्ने मौका पाएका छैनन्। त्यसैले हतारिएर अहिले नै बालेन र रवीहरूलाई असल देख्ने निष्कर्षमा पुग्नु हुँदैन्। अहिले उनीहरू जनतालाई भावनात्मक रूपमा भड्काएर र कमजोर बनाएर आफ्नो राजनीति बलियो बनाउन खोज्दैछन्। फेरि उनीहरूलाई पर्दा पछाडिबाट निर्देशन गर्ने र लगानी जुटाईदिने पात्रहरूको लक्ष्य लोकतान्त्रिक गणतन्त्र विस्थापित गरेर वंशतन्त्र कायम गर्ने हो। तर यो यथार्थ जनताले बुझ्न पाएका छैनन् किनभने जनता आफ्ना अपेक्षाहरू उपेक्षा भएको पीडामा रन्थनिएर सही विकल्प रोज्न पनि सकिरहेका छैनन्।

त्यसमाथि घण्टी कांग्रेसहरूको फैलाएका अफवाहका कारणले एकातिर नेपाली कांग्रेसप्रति जनताको विश्वास कमजोर भएको छभने अर्कातिर तिनै घण्टी कांग्रेस र राजावादीहरू मिलेर कम्न्युनिष्ट राजनीति कमजोर बनाउन बालेन र रवीहरूलाई प्रयोग गर्न खोजिरहेका छन्। तर यसप्रति बालेन र रवीहरू मुख खोलेका छैनन् किनभने यथार्थ बाहिर आयोभने राजनीति सकिनेछ भनेर उनीहरूले बुझेको हुनुपर्छ। जसरी हिजो २०५२ फागुनपछि दरबारसँग सहकार्य गरेर संसदीय राजनीतिमा रहेका दलहरूलाई कमजोर बनाउन प्रचण्ड प्रयोग भए झैं आज नेपालको राजनीतिमा प्रगतिशील लोकतान्त्रिक मान्यता बोकेको कम्न्युनिष्ट पार्टीलाई कमजोर बनाउन बालेन र रवीहरू प्रयोग भइरहेका छन्।

यो खालको राजनीतिक दाउपेच चलिरहेको बेलामा सञ्चार माध्यम र बौद्धिक वर्गहरूको भूमिका स्वतन्त्र र निष्पक्ष र हुनुपर्थ्यो। तर यतिबेला असन्तुष्टी व्यक्त गर्नु, समाजलाई गलत भाष्यबाट दिग्भ्रमित बनाउनु र घर चलाउन आफ्नो क्षमता बेच्न सञ्चार र बौद्धिक जगत रमाएर आफ्नो भूमिका बिर्सिएको छ। बौद्धिकता भनेको त आलोचना गर्नु र समस्या देखाउनु मात्र होइन, ठीकलाई ठीक भन्नु र समस्या समाधानका लागि विकल्प दिनु पनि हो। तर यो ज्ञान हाम्रा धेरैजसो पत्रकार तथा प्राज्ञिक वर्गहरूमा देखिएन। चिन्ताको विषय बनेको छ।

बालेनको चेहरा, चरित्र र चेष्टालाई लिएर सञ्जीव उप्रेती सामाजिक सञ्जालमा लेखेका छन्, “शहरलाई सुन्दर बनाउँदा गरिबलाई नमारौं भन्नु अराजकता होइन। गरिबहरू देशको विकासको विरोधमा छैनन्। विकास र गरिबी एकअर्काका विरोधी होइनन्। गरिबको पक्षमा बोल्नु देशको विरूद्धको बुद्धि विष होइन।” हिजो पञ्चायतकालमा न्याय, समानता र लोकतन्त्रको पक्षमा पैरवी गर्दा ज्यानमाथि जोखिम हुन्थ्यो। आज बालेन मेयर भएको सहरमा सञ्चार र सञ्जालबाट गरिबको पक्षमा बोल्नेमाथि लोकतान्त्रिक प्रणाली र मूल्यमान्यता विपरीत आक्रमण हुन थालेको छ। यसको पछिल्लो प्रमाण सञ्जीव उप्रेतीको ट्विटलाई लिन सकिन्छ।

अमेरिकी राजनीतिको प्रसँगलाई पाकिस्तानी कुटनीतिज्ञ मलिहा लोधीले भनेको कुरो नेपालका लोकप्रियतावादी राजनीतिको सन्दर्भमा पनि मिल्छ। “भ्रमको राजनीति” शीर्षकमा उनीले लेखेकी छिन्, “जब ‘वैकल्पिक तथ्य’ भन्ने अभिव्यक्ति राष्ट्रपति डोनाल्ड ट्रम्पको वरिष्ठ सहयोगी केलियान कोनवेले केही वर्ष पहिले प्रयोग गरेको थिए, यसले अमेरिकी मिडियामा हंगामा मच्चायो। तर यसले एक विचलित र बढ्दो परिचित घटनालाई पनि उजागर गर्‍यो। केही नेताहरू र उनीहरूका अनुयायीहरूको आफ्नै ुवास्तविकताु आविष्कार गर्ने र जनतासामु प्रस्तुत गर्ने राजनीतिक प्रवृत्तिलाई बाहिर ल्यायो।” आज नेपालमा पनि त्यो प्रवृत्तिलाई लोकप्रियतावादी धारका बालेन, रवी र तिनका अनुयायीहरूले आफ्नै वास्तविकता आफ्ना बोली र व्यवहारहरूबाट प्रकट गरिरहेका छन्।

राजनीतिक विचार, चरित्र र गन्तव्य निश्चित नभएकाहरूले यतिबेला नेपालको राजनीतिमा विकल्प दिन्छौं भन्दै जनमन भ्रमित बनाउँदा त्यसको वस्तुनिष्ठ आलोचना नहुँदा लोकप्रियतावादीहरूको मनोबल बढेको छ। त्यसैले त उनीहरू जनता झुक्याउने प्रकृतिका बोली र व्यवहारलाई प्राथमिकता दिएर राजनीतिक गतिविधिहरू गरिरहेका छन्। शहरको सौन्दर्यताका लागि भन्दै गरिब लखेट्छन् र श्रोतसाधनको दुरूपयोग गरेर फूलसहितको गमला सडकमा राख्छन्। जबकि सडक व्यवसायलाई व्यवस्थित गर्न लोकतान्त्रिक पद्धति प्रयोग गरेर नीति ल्याउनु पर्थ्यो र सडकका दायाँबायाँ काठमाडौंको वातावरणमा सुहाउने र दिगो हुने बिरूवाहरू रोप्नु पर्थ्यो। तर त्यसो गरिएन र भएन किनभने उनीहरूलाई लोकतान्त्रिक प्रणाली जनमुखी बनाउनु नै छैन्।

त्यस्तै राष्ट्रिय राजनीतिमा जबर्जस्त आफ्नो उपस्थिति देखाएका पात्र रवी लामिछान पनि यतिबेला स्टन्टबाजी गरेर जनतालाई अझ भ्रमित बनाउन कहिले बाजुरामा जनताको घरको बार्तलीमा देखिन्छन् त कहिले संसदभित्र आफ्नो बेग्लै अस्तित्व भएको देखाउन खोज्छन्। तर राष्ट्रियता र राष्ट्रसँग सम्बन्धित मुद्दाहरू नागरिकता विधेयक, नेपालको प्रशासनिक नक्शाका बारेमा प्रधानमन्त्रीको विवादास्पद भनाई, आर्थिक नीति र कार्यक्रम अनि प्रीतम सिंहलाई लिएर प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर स्पष्ट धारणा सार्वजनिक गर्न सक्दैनन्। तैपनि जनताको असन्तुष्टीलाई प्रयोग गरेर जनतालाई नै भ्रमित बनाएर राजनीति गर्न खोज्दैछन्। रवीहरूको भ्रमको राजनीतिलाई पुरञ्जन आचार्यहरू जस्ता शेरबहादुर देउवा विरोधी कांग्रेसहरूले साथ दिइरहेका छन्।

भारतीय राजनीतिज्ञ हरदीपसिंह पुरीले भ्रमपूर्ण राजनीतिका बारेमा भनेका छन्, एक्काईसौं शताब्दीका धेरै लोकतान्त्रिक रूपमा निर्वाचित नेताहरूले लापरवाह भएर स्वघोषित रूपमा नेता बन्छन्, विचित्रको आत्मप्रशंसा गर्छन् र अचम्मको राजनीतिक विचारहरू देखाउँछन्, जुन चरित्रलाई राजनीतिक रूपमा चित्रण गर्न गाह्रो छ। साथै गलत विश्लेषण गर्ने स्पष्ट रूपमा भिन्न मुद्दाहरूमा भ्रमपूर्ण निर्णय गर्ने गर्छन्। अनि आफूलाई लोकप्रिय नेताको रूपमा प्रस्तुत गर्छन्। उनीहरूलाई यसो गर्नमा हाम्रा अपरिपक्व लोकतान्त्रिक प्रक्रिया, मिडिया र विश्लेषकहरूको मुख्य भूमिका देखिन्छ। अहिले नेपालमा हरदीपसिंह पुरीले भने झैं रास्वपामा रवी लामिछानेले आफूलाई प्रोजेक्ट गरिरहेका छन्। तर जनताले उनको वास्तविक चेहरा, चरित्र र चेष्टा चिन्न सकेका छैनन्।

राजनैतिक तथा संवैधानिक परिवर्तनपछि देशको अवस्थामा जनअपेक्षानुसार परिवर्तन ल्याउन आमनागरिकदेखि नेतृत्व तहबाट जिम्मेवार हुने पद्धति बसाल्न नसक्दा यतिबेला देशको राजनीतिमा कम्फर्टेबल अवसरवाद र आत्मसमर्पवाद अनि भ्रमपूर्ण लोकप्रियतावादले आफूलाई लोकप्रिय देखाउन सजिलो भएको छ। यो सत्यलाई राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले बुझेर आफ्ना राजनीतिक आदर्श, चरित्र र उद्देश्यअनुसार आफ्नो आनीबानी र व्यहोरामा परिवर्तन ल्याएर जनविश्वास पुनः आर्जन गर्दै जनतामा आसा जगाउने राजनीति गर्नुपर्छ। अन्यथा नेपालको राजनीतिमा चेहरा, चरित्र र चेष्टा ठीक नभएका पात्र र प्रवृत्तिहरू कम्फर्टेबल अवसरवाद र आत्मसमर्पवाद अनि भ्रमपूर्ण लोकप्रियतावादको अस्वभाविक प्रभाव कायम नै रहन्छ।

त्यसैले देशको अवस्था राम्रो र राजनीतिक पद्धति स्थिर बनाउन नागरिक निर्यात गरेर वस्तु आयात गर्न सिकाउने शिक्षा व्यवस्था र त्यसलाई निरन्तरता दिने नवउदारवादी आर्थिक नीतिमा व्यापक परिवर्तन गर्नुपर्छ। अनि मात्र जनअपेक्षाहरू प्राथमिकताका आधारमा क्रमिक रूपमा सम्बोधन हुने वातावरण बन्छ, नागरिकमा पनि अब केही हुन्छ भन्ने आसा बढ्छ र लोकतान्त्रिक पद्धति बलियो देखिन थाल्छ। त्यसपछि नकारात्मक धारको राजनीतिको पनि अन्त्य हुन्छ। यी पक्षहरूलाई विशेष ख्याल गरेर आज राजनीतिक दलका नेताहरू वैचारिक आधारमा क्रियाशील हुनुपर्छ।