१४ आश्विन २०८३, बुधबार 9:20 am
Banner

वृजेशकुमार गुप्तासहित बिभिन्न दलका नेता कार्यकर्ता आज एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्नुहुने

बुटवल । प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदै हुनुहुन्छ ।

एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले दिनुभएको जानकारी अनुसार संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न दलका नेताहरुको ठुलो संख्यामा पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु जान लाग्नुभएको हो ।

एमाले कपिलवस्तुले पार्टी अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावी सभाको आयोजना गरी अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने योजना बनाएको छ। एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले सोमबारको चुनावी सभाले कपिलवस्तुका १० वटै स्थानीय तहमा एमालेले पकड जमाउन सक्षम भएको सन्देश दिने बताउनुभयो ।

चुनावी सभामार्फत संघीय सांसद गुप्ता, प्रदेश सांसद धर्म वहादुरलाल श्रीवास्तव सहित क्षेत्र नं २ र १ वाट पाँच हजार वढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने सो पार्टीले जनाएको छ।

यसअघि समाजसेवी मंगलप्रसाद गुप्तासहित चार हजार बढीलाई टीका लगाएर स्वागत गर्न अध्यक्ष ओली तीन महिना पहिले कपिलवस्तु जानुभएको थियो ।

अध्यक्ष ओलीले सोमबार बिहान भैरहवामा आयोजित पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ। भैरहवाको कार्यक्रम सकेर दिउँसो उहाँ तौलिहवा जानुहुनेछ ।