१० कार्तिक २०८१, शनिबार 1730002225
Banner

रास्वपा रूपन्देहीमा कुटाकुट, प्रहरीमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीमा कुटपिट भएपछि प्रहरी कार्यालयमा उजुरी परेको छ । एक समूहले अर्को समूहलाई कुटपिट गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी पुगेको हो।

आगामी मंसिरमा रास्वपाको महाधिवेशन तय भएको छ। महाधिवेशनका लागि जिल्ला, क्षेत्र तथा गाउँ तहसम्म पार्टीको संगठन विस्तार गरिरहेको रास्वपा रुपन्देहीमा भने नेतृत्व हत्याउने दाउपेचकै कारण एक समूहले अर्को समूहका कार्यकर्ताको सदस्यता खारेजी गर्ने र कुटपिट गर्ने तहसम्म पुगेको हो।

रास्वपा सैनामैनाका र्‍यापिड एक्सन टिमका संयोजक समेत रहेका दामोदर खत्रीले पार्टीलाई विधानअनुरूप संचालन गर्नुपर्ने र पार्टीभित्र देखिएका विसंगतिहरू हटाउनुपर्ने आवाज उठाउँदै गर्दा आफ्नो आवाज दबाउन खोजिएको र हातपातसमेत गरेको दाबी गरेका छन्।

खत्रीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै पार्टीलाई विधानअनुसार सञ्चालन गर्नुपर्ने भन्दा छुट्टै समूह गठन गर्न प्रस्ताव गरेको र आफू उक्त प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको आरोप लगाए।

‘गत बुधबार राति ९ बजेतिर पार्टी कार्यालयमा बोलाएर ममाथि कुटपिटसमेत भएको थियो। सोही समूहले नै इलाका प्रहरी कार्यालय बुटवलमा उल्टै मैले कुटपिट गरेको उजुरी दिएका रहेछन्,’ खत्रीले भने ।

खत्रीले रास्वपाको विधानको धारा १३ ङ मा सरकारी विद्यालयमा पढाउने कुनै पनि व्यक्ति पार्टीको कुनै पनि पदमा नरहने व्यवस्था रहेकोले जिल्ला, क्षेत्र र पालिका कुनै पनि तहमा त्यस्ता व्यक्तिलाई राख्न नहुने बताउँदै आएको बताए।

पार्टीको विधानमा कुनै पनि सरकारी शिक्षक पार्टी कमिटीमा बस्न नपाउने व्यवस्था गरिएको भए पनि रूपन्देहीका जिल्ला संयोजक प्रकाश ज्ञवाली तिलोत्तमा नगरपालिका वडा नं १७ पिपरहियास्थित बालविकास आधारभूत विद्यालयका शिक्षक हुन् । सोही विषयमा आवाज उठाउँदै समूहमाथि कुटपिट भएको हो ।