१ जेष्ठ २०८३, शुक्रबार 1778879684
Banner

राष्ट्रपति भण्डारी पोखरामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा जानुभएको छ ।

न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उहाँ हेलिकप्टरमार्फत पोखरा जानुभएको हो । राष्ट्रपति भण्डारीलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, पूर्व मन्त्री पद्मा अर्याल, प्रदेशसभा सदस्य, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतले स्वागत गर्नुभयो ।

पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा हुने सम्मेलनमा देशका ७५३ वटै पालिकाका न्यायिक समितिलाई निमन्त्रणा गरिएको उपप्रमुख एवं न्यायिक समितिका प्रमुख गुरुङले जानकारी दिनुभयो ।

महानगर, उपमहानगर, नगर, गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ । संविधानको भाग १७ स्थानीय कार्यपालिकाअन्तर्गत धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरिएको छ ।

कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न नगरपालिका वा गाउँपालिकाका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय समिति रहने व्यवस्था गरिएको छ ।