१० श्रावण २०८३, आइतबार 1785110755
Banner

त्रिवि सेवा आयोगको परीक्षामा किर्ते गर्ने ६ जनाविरुद्ध  मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय, सेवा आयोगको कार्यालयका प्राध्यपक डा. टेकनाथ ढकाल, सहप्राध्यापक र तत्कालीन प्रशासन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

२०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको आरोपमा अख्तियारले उहाँहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहाय पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका संपरीक्षण गर्ने प्राडा टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइराला र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनु भयो ।

त्रिवि सेवा आयोगको परीक्षामा अनियमिता गरेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम भ्रष्टाचारको कसुर भएको देखिँदा उहाँहरूउपर तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवानाको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको हो ।