२७ बैशाख २०८३, आइतबार 1778445533
Banner

कोशीका सभामुख बाबुराम गौतमले दिए पदबाट राजीनामा

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन्। मुख्यमन्त्रीमा दाबी गर्न गठबन्धनलाई बहुमत पुर्‍याउन सभामुखले मंगलबार राजीनामा दिने भएका हुन्।

सभामुख गौतमले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्। प्रदेश प्रमुख खापुङले दलहरूलाई मुख्यमन्त्री दाबी गर्न दिएको समय मंगलबार अपराह्न ५ बजे सकिँदैछ। त्यसअघि नै बहुमतसहित मुख्यमन्त्री दाबी गर्न जाने नेताहरूले बताएका छन्।

कांग्रेस संसदीय दल नेता उद्धव थापाले नै गठबन्धनभित्र मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्। यसअघि सभामुखसहितको हस्ताक्षर गरेर नेपाली कांग्रेस संसदीय दल नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि सर्वोच्च अदालतले बिहीबार उनको नियुक्ति खारेज गरेको थियो।

नेपाली कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद मात्रै हुने भएपछि सभामुखलाई राजीनामा दिन लगाउन लागिएको हो।

सभामुख गौतमले भने अहिलेसम्म राजीनामा दिन आनाकानी गरिरहेका छन्। तर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उनलाई राजीनामा दिन बाध्य पारिएको हो।

उनलाई सरकारमा मन्त्री बनाउने शर्तमा राजीनामा दिन मनाइएको गठबन्धनका नेताहरूले बताएका छन्।