काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
प्रतिनिधि सभामा एमालेले जारी राखेको अवरोध खुलाउने मुख्य एजेन्डा तय गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । उक्त दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनमै बस्नेछ ।
कार्यव्यवस्था परामर्श समितिको बैठक अगाडि सभामुख घिमिरेले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका छन् ।
निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै सभामुखले गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ ।
त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा भित्रिएको सुन बरामद भएपछि एमालेले त्यसउपर सरकारी अनुसन्धान नभइ छुट्टै अनुसन्धान माग गर्दै आएको छ । यही माग राखेर एमालेले साउन १० गतेदेखि प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन ।