१० कार्तिक २०८१, शनिबार 1729995090
Banner

प्रस्तावित राजदूतले अंग्रेजी जान्दैनन् भनी परेको उजुरीमा संसदीय समितिमा छलफल

काठमाडौं । युनाइटेड अरब इमिरेन्ट्स (यूएई)का लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्रीबारे संघीय संसद्को संसदीय सुनुवाइ समितिमा छलफल भएको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा प्रस्तावित राजदूतविरुद्ध गोप्य रुपमा प्राप्त उजुरीबारे छलफल भएको हो ।

नाम र मन्त्रालय नखुलाई कर्मचारीले इमेलमार्फत पठाएको उजुरीमा प्रस्तावित एक राजदूतले अंग्रेजी लेख्न नसक्ने र मन्त्रालयमा क्षेत्री ‘टीका लगाएर छिरेको र त्यसपछि कहीँ कतै पास नभएको उजुरीमा उल्लेख छ ।

‘टीका लगाएर मन्त्रालयमा छिरेका हुन् र त्यसपछि आजसम्म कहिले पनि पास भएका छैनन्,’ उजुरीकर्ताले लेखेका छन्, ‘यिनले एक प्याराग्राफ पनि अंग्रेजी लेख्न सक्दैनन्, यिनलाई टेस्ट लिन सकिन्छ । यस्ता मान्छेले देशकै बेइज्जत गर्ने हुन् ।’

गएको असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट राजदूतका लागि उनीसहितको नाम सिफारिस गरिएको थियो ।

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, यूएईका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित स्थायी नियोगका लागि रामप्रसाद सुवेदीको नाम सिफारिस गरिएको छ ।

Tags :