११ कार्तिक २०८१, आइतबार 1730030766
समाचार

कर्णालीको चिसापानी क्षेत्रमा एक दशकपछि अत्यधिक वर्षा

टीकापुर । कैलालीको कर्णाली चिसापानी क्षेत्रमा २०७१ यताकै बढी वर्षा भएको छ । वर्षा मापन केन्द्र कर्णाली चिसापानीका अनुसार यही साउन २३ गते बिहान चार सय २४ दशमलव दुई मिलीमिटर वर्षा मापन गरिएको छ। यसैगरी चिसापानी माथिल्लो क्षेत्रमा वर्षा भए ठूलो खतरा हुने जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्र चिसापानीकी कर्मचारी पार्वती गुरुङले बताए ।

“माथिल्लो क्षेत्रमा पनि यस्तै वर्षा भएको भए नदीमा पानीको बहाव अत्यधिक बढ्ने थियो”, उनले भने। जल तथा मौसम विज्ञान विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका अनुसार यही साउन २४ गते एक सय ४३ दशमलव नौ मिलीमिटर वर्षा मापन भएको छ। चुरे क्षेत्रमा वर्षा भएकाले त्यहाँ पहिरोसमेत गएको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले बताए।

अहिले पनि मनसुन सक्रिय भएकाले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ। आगामी तीन दिनसम्म पनि देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। आउँदो शनिबारदेखि फेरि मनसुन सक्रिय हुने देखिएको र त्यो समयमा अझै बढी वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिलेको अवस्था हेर्दा शनिबारदेखि देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले नागरिकलाई सचेत रहन मौसमविद् सजिना शाक्यको सुझाव छ। दुई दिन परेको वर्षाका कारण बाढी आउँदा कैलालीका तटीय क्षेत्रमा डुबान भएको छ। डुबान हुँदा हजारौँ नागरिक प्रभावित भएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै पनि भारी वर्षा हुने सम्भावना देखिएकाले तटीय तथा जोखिम क्षेत्रका नागरिकले सतर्क भएर बस्न स्थानीय पालिकाले आग्रह गरेका छन् ।

कैलालीको टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकाले नागरिकलाई सुरक्षित रहन सूचना गरेका छन् । बाढीबाट टिकापुर र भजनीका सयौँ परिवार विस्थापित भएका छन् । कैलालीमा बर्सेनि कर्णाली, मोहना, पथरैया, कन्द्रा, खुटियालगायत नदीले दुःख दिने गरेको छ।