५ भदौ २०८३, शुक्रबार 1787312124
Banner

केशव स्थापितलाई दियो एमालेले बिदा

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन्। सोमबार बसेको सचिवालय बैठकले उनलाई बिदा दिने निर्णय गरेसँगै उनी अब पार्टीको सक्रिय राजनीतिबाट बाहिरिएका हुन ।

एमालेका एक नेताका अनुसार उनले पार्टी नेतृत्वलाई पार्टीको जिम्मेवारीबाट बिदा लिने जानकारी गराएका थिए । त्यही अनुसार सचिवालय बैठकले बिदा दिने निर्णय गरेको हो ।

उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए। २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका उनी पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए।

त्यसपछि एमाले छाडेर प्रजा परिषद् ब्युँताउन लागेका उनी एमाले विभाजन भएर बनेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा क्रियाशील भएका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं-६ बाट उम्मेदवारसमेत बनेका थिए।

तत्पश्चात् एमाले फर्किएर काठमाडौं ६ बाटै प्रदेशसभा सदस्य निर्वाचित भएका उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए। पछि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि मन्त्री पदबाट हटाइएका थिए।