२३ आश्विन २०८१, बुधबार 1728499671
Banner

जनकपुर जयनगर रेल आजदेखि सञ्चालनमा आउने, नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने

काठमाडौं । जनकपुर जयनगर रेलको आज उद्घाटन हुनेभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार नयाँदिल्लीबाट संयुक्त रूपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा २ सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो ।

पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको छ । यो रेल सेवा शुरू भएसँगै नेपालको रेल यातायात तर्फको अर्को यात्रा शुरू हुनेछ । शनिवार रेल गाडीमा दुवै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिए । अन्तरदेशीय रेल सेवाका रूपमा सञ्चालन हुने रेलमार्गमा जनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव लगायतका व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ ।

उनी कुर्थासम्म पुगेर फर्किएर जनकपुर आउनेछिन् भने रेल पुनः जयनगर जाने उनले जानकारी दिए । उनले भने, ‘रेलगाडीले स्वागत गरेर कुर्थासम्म जानेछ ।’

शनिवार उद्घाटन भएपछि आइतवारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । उनका अनुसार दिनको २ पटक आउने र २ पटक जाने गरी समयतालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्कौ रेल छुट्ने उनले जानकारी दिए । उनले भने, ‘आइतवारबाट नै नियमित रूपमा रेल चलाउन हाम्रो तयारी पूरा भइसकेको छ ।’

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा सञ्चालनका लागि सरकारले २ सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) ल्याइएको थियो । एउटा रेलमा १ हजार ३५० यात्रु यात्रा गर्न सक्ने महाप्रबन्धक झाले जानकारी दिए ।

यात्रुले आफ्नो साथमा साना झोला लैजान पाउने छन् । तत्काल सञ्चालनमा आउन लागेको यात्रुबाहक रेलगाडी हुन् । अहिले सञ्चालन हुन लागेको कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण २ वर्ष पहिले नै सकिएको थियो ।

हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किलोमिटरमा रेल सञ्चालन हुनेछ । कुर्थाबाट बिजुलपुरासम्मको निर्माण झण्डै सकिएको र अबको २–४ महिनामा रेल सञ्चालन गर्न सकिने विभागका प्रवक्ता चित्रकारले जानकारी दिए । ३५ किलोमिटरमा ८ ठाउँमा रेल रोक्न सकिने छ ।

नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने प्रवक्ता चित्रकारले बताए । यसले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ । एउटा स्टेसनबाट ४–५ किलोमिटरमा अर्को स्टेसन आउँछ । यसको डिजाइन स्पीड यात्रुबाहक गाडीमा १०० किलोमिटर प्रतिघण्टा रहेको छ । मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए ।

उनले भने, ‘त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्दछ ।’ डेढ वर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानूनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको हो ।

भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट खरिद भएको हो । २ सरकारबीच सम्झौता भई ९जीटुजी० रेल खरिद भएको हो । कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिक लगायत आवश्यक कर्मचारी भर्ना गरिएको छ । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ ।

भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जिनीयर रहेको महाप्रबन्धक झाले जानकारी दिए । कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा ९० रुपैयाँ भाडादर तोकिएको छ । एसिका लागि भने त्यसको ५ गुणा अर्थात ४५० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वत भाडादर त्योभन्दा कम हुनेछ ।

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी थिइन् । यसअघि गत मंसिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश संघीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो ।

संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पुनः रेल्वे अध्यादेश जारी गरेपछि रेल सञ्चालन गर्ने बाटो खुलेको थियो । जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एक डेढ वर्ष पछिदेखि काम शुरू भएको थियो । भारत सरकारसँग सीमा क्षेत्रमा ५ स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु ३ स्थानमा निर्माणको काम शुरू हुन सकेको छैन । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु ३ रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज छन् ।

विगतमा लामो समयदेखि रेल सेवा ठप्प हुँदा रेल्वे कम्पनी पनि निष्क्रिय बनेको थियो । सरकारले रेल सञ्चालनका लागि ब्यूँत्याइएको थियो । नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विक्रम संवत् १९९४ सालतिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । विक्रम संवत् २०७० सालदेखि रेलमार्ग सञ्चालन हुनसकेको थिएन । रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो ।

जयनगर–कुर्था–बर्दिवाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत ५ अर्ब भारु रहेको छ । नेपाल सरकारले रेलगाडीको मूल्य १ अर्ब रहेको छ । विजुलपुराबाट बर्दिवाससम्म रेलमार्ग निर्माणका लागि जग्गा प्राप्ति काम अघि बढेको छ ।