३ आश्विन २०८१, बिहिबार 1726766329
पर्यटन

बागलुङको कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ – चैते दसैँ नजिकिएसँगै गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङको कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । अहिले मन्दिर परिसरको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्ने  ठाउँको अभाब हुनाका साथ पूजा सामग्री खरिद गर्ने पसलमा भीड लागेको छ । मन्दिरमा लागेको भीड मूल प्रवेशद्वारसम्म नै पुगेकाले पोखरा–बागलुङ राजमार्गसमेत बेलाबेलामा जाम हुन थालेको छ ।

कोरोनाको महामारीका कारण विगत दुई वर्षको चैते दसैँमा नखुलेको कालिका मन्दिरमा अहिले काठमाडौँ, चितवन, भैरहवा, पोखरालगायत स्थानबाट भक्तजन दर्शनका लागि आएका छन् । उक्त मन्दिरमा वडा दसैँ र चैतेदसैँको नवरात्रमा ठूलो भीड लाग्ने गर्दछ ।

लामो समयपछि खुलेको उक्त मन्दिरमा दर्शन गर्नेको सङ्ख्या अधिक रहेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । कोरोनाका कारण  लामो समयसम्म मन्दिर  बन्द हुँदा भक्तजनले बलिसमेत दिन पाएका थिएनन् । अहिले बलि चढाउने, भाकल गर्ने तथा मन्दिर परिसरमा पूजापाठ लगाउनेको चाप बढेको उहाँको भनाइ थियो । मन्दिर क्षेत्रमा भीडभाड भएसँगै जिल्ला प्रहरी कार्यालयले सुरक्षा बढाएको छ । चैते दसैँको अवसरमा गुठीले यही चैत २४ देखि २८ गतेसम्म चैते दसैँ मेलासमेत आयोजना गरेको छ ।

मन्दिरमा चैत्राष्टमी र वडादसैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको भीड लाग्ने गरेको छ । उक्त मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।