७ मंसिर २०८१, शुक्रबार 1732270270
Banner

सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अवैध सुन तस्करीका विषयमा सहमति भएअनुसारको उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएका छन् ।

चीन भ्रमणबारे जानकारी दिन प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले आयोग बनाउने प्रक्रिया अगाडि बढिरहेको बताएका हुन् ।

‘अवैध सुन तस्करीका सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ । यस अघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको जानकारी सदनलाई गराउँछु ।’ प्रधानमन्त्रीले भने ।

त्यस्तै प्रधानमन्त्रीले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् । ‘नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको साङ्घातिक खुकुरी प्रहारलाई सरकारले गम्भीररुपमा लिएको छ । आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढेको जानकारी गराउँछु’ प्रधानमन्त्रीले भने, ‘यस्तो घटना दोहरिन नदिन र शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकार तयार रहेको जानकारी गराउँछु ।’