७ मंसिर २०८१, शुक्रबार 1732263810
Banner

सरकारले अपराधको राजनीतिकरण गर्‍यो: अध्यक्ष ओली

काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गर्नुभएको छ।

अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिरहेको जिकिर समेत गर्नुभयो।

शुक्रबार पार्टीको केन्द्रिय अर्थ तथा योजना विभागले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिराखेको छ। अपराधी जेलमा बस्नु पर्दैन। प्रोफेसरको ढाँड भाँचिदियो भने मुद्दा फिर्ता लिन्छ। प्रोफेसरको जिन्दगी बर्बाद भइराखेको छ। एउटा क्रिमिनलको मुद्दा नचलाउन खोज्छ। दबाब दिएर चलायो भने फिर्ता लिन्छ।’

राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार गरेको उहाँको भनाइ थियो। 

उहाँले भन्नुभयो, ‘राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ। सरकारले जे लग्यो, त्यो बडो खुसीका साथ स्वीकार्नु हुन्छ। अब यो स्थितिमा अब राज्यको यो ग्र्याजुएशन, विकास, गरिबी निवारणलगायतका कुराहरुमा राज्यको ध्यानै छैन।’

अध्यक्ष ओलीले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुंग्याउने भन्दा पनि हिंसालाई उत्सवको रुपमा मनाउनेतिर रहेको बताउनु भयो ।

‘सरकारलाई राम्रो कामको निम्ति बाध्य पार्नुपर्छ या त सत्ता परिवर्तन गर्न सक्नुपर्छ। हिंसा फैल्याउनका लागि गौरवगाथा दिवस मनाइन्छ। अनि सरकारको ध्यान कता छ भन्ने कुरा नि। मैले त्यसबेला यो नगर्नुस् भनेँ। तर उहाँहरुको साँठगाँठ अर्कातिर भइरहेको हुनाले प्रचण्डजीले मलाई जवाफ दिनुभयो– शेरबहादुर जीसँग मेरो कुरा भइसकेको छ। म यो गर्छु। उहाँ एउटा अठोटमा पुगिसक्नुभएको थियो। नगर्नुस् भन्ने मेरो कुरो हो। म फेरिपनि नगर्नुस् भन्छु। जसले गरे पनि। तपाईं यो शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन खोज्दै हुनुहुन्छ,’ ओलीले भन्नुभयो, ‘हिंसालाई राष्ट्रिय दिवसको रुपमा बिदा मनाएर। तपाई आफ्ना कार्यकर्तालाई पैसा बाँड्दै हुनुहुन्छ। हिंसा दिवस मनाएर उन्माद चढाउँदै हुनुहुन्छ। र, शान्ति प्रक्रिया टुंगो लगाउँदै हुनुहुन्छ। यो कुरा गर्नु हुन्छ। हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जाने कुरा हो र? एउटाको घाउमा नुनचुक छर्किएर, पीडितमाथि न्याय होइन, उसमाथि अन्याय र अपमानले घोचेर शान्ति प्रक्रिया टुंगो लाग्छ? मैले यो प्रसंग किन मात्रै भनेको हो भने सरकारको ध्यान कता छ? यतिबेला के हिंसालाई उत्सव मनाउनुपर्ने थियो र ?’

फागुन १ गते माओवादी विद्रोहको शुरु भएको दिनलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय स्मरण गराउँदै उहाँले सरकारले हिंसालाई उत्सवको रुपमा मनाएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने उल्टो बाटो लिएको बताउनु भयो ।