काठमाडौं । नक्कली शरणार्थी प्रकरणका आरोपितहरू थुनामा पठाउनुपर्ने आदेश गर्ने जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवा भएको छ ।
गत मंगलबारको न्यायपरिषद् बैठकले न्यौपानेलाई सरुवा गरेको हो । उनलाई सीधै काठमाडौंबाट रुकुमकोट जिल्ला अदालतमा गरिएको छ । जिल्ला अदालत काठमाडौं नक्कली शरणार्थी प्रकरणका आरोपितहरूविरुद्ध मुद्दा दायर भएपछि गोला हाल्दा न्यायाधीश न्यौपानेको इजलासमा त्यो मुद्दा परेको थियो ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, बहालवाला सचिव टेकनारायण पाण्डेलगायतलाई न्यायाधीश न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
यसपालिको सरुवामा जिल्ला न्यायाधीश न्यौपानेको नाम समावेश हुनु कुनै पनि दृष्टिकोणले जायज नभएको बताइएको छ ।