४ भदौ २०८३, बिहिबार 1787277744
Banner

जलहरी प्रकरणमा फसाए प्राण त्याग गर्ने चेतावनीसहित संसदीय समितिलाई सदस्यसचिव थापाको पत्र

काठमाडौं । शुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिमा निवेदन दर्ता गराएका छन् ।

जलहरी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन नपुगेको भनेर दुःख दिन लागेको भन्दै उनले संसदीय समितिमा निवेदन दर्ता गराएका हुन् ।

कानुन, न्याय तथा मानवअधिकार समितिमा दर्ता गरेको निवेदनमा थापाले जलहरीबारे उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गरिदिनका लागि आग्रह गरेका छन् ।

साथै उनले बदलाको भावनाले आफूलाई फसाइएमा पशुपतिनाथको मन्दिरमा प्राण त्याग गर्ने चेतावनीसमेत दिएका छन् ।

निवेदनको साथमा उनले ‘मलाई न्याय देऊ सरकार’ लेखेर घाँटीमा फाँसीको फन्दा र आँखामा आँसु भएको मानिसको चित्र समेत पठाएका छन् ।

उनले जलहरी राख्ने काममा राष्ट्रपति, प्रधानमन्त्री देखि तत्कालीन सदस्यसचिवसम्मका व्यक्तिको संलग्नता रहे पनि अख्तियारले पूर्वाग्रही ढंगले आफूलाई मात्रै दोषी देखाउन खोजेको, पशुपतिको जग्गामा चलखेल गर्न नपाएका व्यक्ति तथा मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयल समेत आफूविरुद्ध लागेको आरोप लगाएका छन् ।