१० श्रावण २०८३, आइतबार 1785093131
अर्थ

होटल आनन्दसँगको सम्झौता रद्द

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मसालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मसाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ ।

कोष र होटेल आनन्द प्रालीकाबीच धर्मसाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्द प्रालीले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकासित गरी सम्झौता रद्द भएको जनाएको छ ।

कोष र प्रालीबीचको सम्झौता रद्द भएको विषयमा लेखिएको पत्र कोषका पदाधिकारी तथा कर्मचारीले बुझाउन जाँदा प्राली (बतास समूह)ले बुझन नमानेको कोषका सदस्य सचिव डा मीलनकुमार थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “होटेल आनन्द प्रालीले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता अनुसार पालना गरेको पाइएन, कोष सञ्चालक परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय ग¥यो, सम्झौता रद्द भएको पत्र बुझाउन जाँदा बतास समूहले बुझ्न मानेन् ।”

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझन नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले कोषमार्फत होटल आनन्द प्रालिलाई धर्मसाला खाली गर्न बिहीबार पत्राचार गरेको थियो ।