९ कार्तिक २०८१, शुक्रबार 1729915972
समाचार

मिटर ब्याजसम्बन्धी तीन सय ८८ उजुरी फस्योट, दुई मुद्दा दर्ता

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी परेको उजुरीमध्ये तीन सय ८८ उजुरी फस्योट गरेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट उल्लेखित संख्यामा उजुरी फस्योट भएका हुन् ।

यस्तै सहमति नभएपछि दुई मुद्दा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरीमध्ये तीन सय ९० उजुरीको छानबिन गर्दा तीन सय ८८ वटामा दुवै पक्षबीच सहमति भएर फछ्र्यौट भएको उहाँले बताउनुभयो । उहाँका अनुसार छानविनपश्चात ७८ कित्ताको १५ बिघा पाँच कठ्ठा ११ धुर जग्गा र दुवै पक्षको सहमतिमा सात करोड नौ लाख ३० हजार चार सय ७४ फिर्ता गराइएको छ ।

मिटर ब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी मिटर ब्याज पीडितको उजुरी बढी छ । कसै–कसैले थोरै रकम दिएर त्यसवापत बढीको कपाली तमसुक गरेको, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक धितोवापत राख्ने प्रवृत्ति रहेको पाइएको उनले बताए ।

परेको उजुरीको छानविनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

छानविनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे÷नरहेको समेत अनुसन्धान गर्ने गरिएको उनको भनाइ छ ।

‘उजुरीको छानविन गर्दा सकेसम्म सहमतिमै समस्या समाधान होस् भन्ने नै हाम्रो चाहना रहन्छ,झ् प्रजिअ रेग्मीले भने, ‘त्यहीअनुसार हामीले उजुरीकर्ता र आरोपित दुवै पक्षलाई सहमतिका लागि छलफल गराउँछौँ ।” अहिलेसम्म धेरैजसोमा सहमतिबाटै उजुरीको पछयौट भइरहेको छ, यो राम्रो पक्ष हो उनले भने ।