९ कार्तिक २०८१, शुक्रबार 1729916106
राजनीति

माओवादी पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ : भ्रमण उपलब्धिपूर्ण रह्यो

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय फोरममा नेपालको बलियो उपस्थिति बताएका छन् ।

दुई साता लामो अमेरिका र चीन भ्रमण सकेर शनिबार मात्रै स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले मंगलबार पदाधिकारीको अनौपचारिक बैठकमा यस्तो बताएका हुन् । साथै, उनले आफ्नो भ्रमण उपलब्धिपूर्ण भएकोसमेत बताए ।

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा जलवायु परिवर्तनले पारेको प्रभाव, नेपालको शान्ति प्रक्रिया, संसदबाट अनुमोदन गरेको व्याख्यात्मक घोषणासहितको अमेरिकी सहयोग परियोजना एमसीसी लगायत विषयमा आफूले विश्व नेतासमक्ष कुरा राखेको प्रचण्डले ब्रिफिङ गरेका थिए ।

‘आजको छलफलमा प्रधानमन्त्रीले अमेरिका र चीन भ्रमणको बारेमा ब्रिफिङ गर्नुभयो । अन्तर्राष्ट्रिय फोरममा नेपालको बलियो उपस्थिति भएको, शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको, एमसीसीको सम्बन्धमा अमेरिकी अधिकारीसँग सकारात्मक कुराकानी भएको उहाँले जानकारी गराउनुभयो,’ ती पदाधिकारीले बताए ।