काठमाडौं । टोखा नगरपालिका आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ । यस अघि टहरो र भाडाको कोठाबाट नगरपालिकाले आफनो सेवा विस्तार गरेको थियो । नगरपालिकाको मैजुहिटी काठमाडौंमा रहेको भाडाको भवनबाट हिजोदेखि आफनै भवनमा सरेर सेवा शुरु गरेको हो । करिब १५ करोड लागतमा निमार्ण कार्य सकिएको नगरपालिकामा दुई सयभन्दा बढि कर्मचारीले कार्य गर्न सक्ने क्षमता राखिएको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।
नवनिर्मित भवनमा ठयाक्कै कति कोठा छन भन्ने यकिन नभएपनि सेवा प्रवाह हुने सबै सेवाको लागि प्रयाप्त ठाउ रहेको प्रमुख अधिकारीले बताउनुभयो । नवनिर्मित नगरपालिकाको भवन जनताकै सम्पति भएकाले कार्यालयबाट छिटो छरिटो र गुणस्तरीय कार्यसम्पादन हुने प्रमुख अधिकारीको भनाए थियो । करिब ५ रोपनी क्षेत्रफलमा निमार्ण सम्पन्न भएको नगरपालिकाको औपचारिक उद्घाटन २८ गते गरिने मेयर अधिकारीले बताउनुभयो । आधुनिक र सुविधासम्पन्न नगरपालिकाको भवन ६ तल्ला रहेको छ ।
नगर प्रमुख अधिकारीले पूर्बाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, आर्थिक विकास, खानेपानी, सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन प्रवद्र्धन, कृषि, सम्पदा तथा संस्कृति संरक्षण लगायत नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई आफुले पहिलो प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभयो । चुनावी समयमा जनतामाझ जाँदा आफूले गरेको प्रतिबद्धता मध्ये नगरपालिकालाई आफनै भवनमा राख्ने आफनो प्रतिबद्धता पुरा भएको उहाँको भनाई थियो । प्रमुख अधिकारीले भन्नुभयो, ‘जनतामाझ जाँदा आफुले गरेको धेरै प्रतिबद्धता पुरा गरिसकेको छु ती मध्ये नगरपालिकाको भवन निमार्ण कार्य सम्पन्न भएको छ ।’
जनताको करको सत प्रतिशत सदुपयोग होस र आर्थिक पारदर्शितालाई पनि स्पष्ट रुपमा राखिएको उहाँको भनाए थियो । नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउने उदेश्यले नगरपालिकाले कर सप्ताह मनाइरहेको छ ।