२७ बैशाख २०८३, आइतबार 1778397348
Banner

रामचन्द्र पौडेलको नेतृत्वमा सत्तागठबन्धनले चुनावी तयारी र अनुगमन समिति बनायो

काठमाडौं । बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन बैठकले स्थानीय चुनावका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा छुट्टै समिति गठन गर्ने निर्णय गरेको छ।

०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय भएको हो।

आज बिहान ९ बजेदेखि बालुवाटारमा सत्तागठबन्धनको बैठक बसेको थियो।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेता सहभागी थिए।

समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन्।

यस्तै माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरूङ सदस्य छन् भने एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल सदस्य छन्। जसपाबाट अशोक राई र रेणु यादव सदस्य छन्। राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन्।