काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले इजरायल घटना अघि बोलेको कुरालाई काँटछाँट गरी भिडियो बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै सांसद पन्तले बेग्लै प्रश्नमा बोलेको कुरालाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी भिडियो बनाएर प्रचार प्रसार गरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले यस्ता भिडियो तत्काल हटाउन पनि माग गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ,’मेरो भनाइलाई काँटछाँट गरी त्यसरी गलत अर्थ लाग्ने भिडियो बनाई प्रचार गर्ने कार्यबाट सम्बन्धित व्यक्तिको भावनामा चोट पर्न गएको भए त्यसप्रति गहिरो दुःख व्यक्त गर्दछु र कसैलाई पनि चोट पुर्याउने मेरो भनाइ नभएको कुरा व्यक्त गर्दछु ।’
सांसद पन्तले इजरायनमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न र मारिएका नेपालीहरुको परिवारलाई इजरायली सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।