९ कार्तिक २०८१, शुक्रबार 1729887003
Banner

नेपालको अर्थतन्त्र सुधारका लागि आएका सुझावलाई गम्भीर रुपमा लिएको छु:प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्रमा अहिले देखिएका समस्याबारेमा निजी क्षेत्र, विज्ञ र सबै क्षेत्रबाट प्राप्त सुझावलाई मैले गम्भीर रुपमा लिएको बताएका छन् ।

बिहीबार राष्ट्रिय आर्थिक बहस कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘पहिल्यैदेखि म निजी क्षेत्रसँगको सहकार्य कसरी बढाउन सकिएला भन्ने कुराले चिन्तित छु । नेपालको अर्थतन्त्रमा परेको दबाबलाई हटाउन र समस्या समाधान गर्न सकिने चाबी यही सहकार्यबाट हुनसक्छ भन्ने मेरो बुझाइ रही आएको छ ।’

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट आएको सुझाब सराहनीय रहेको उनले बतए । ‘मैले पहिल्यैदेखि भनिआएको सरकार र निजी क्षेत्रबीचमा एउटा सहकार्यको नयाँ वातावरण बनाउने कुरामा निजी क्षेत्र आइपुगेको छ । नयाँ धरातल बनेको छ । सरकार अहिले मन्त्रिपरिषद्‍मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउने तयारीमा छ । मुख्य सचिव र म आफैं पनि अब कसरी अघि बढ्ने भन्ने छलफलमा भएकै बेला निजी क्षेत्रबाट सुरु भएको यो पहल सरकारका लागि महत्वपूर्ण छ,’ उनले भने ।

सरकारको नीति तथा कार्यक्रमका साथै बजेट बनाउने कुरामा र अर्थतन्त्रमा परेको प्रभावबारे बोल्ड निर्णय गर्ने कुरामा अब आउने आर्थिक वर्ष ‘एउटा मेजर अप्रेसन’ तिर जानु पर्ने रहेको उनले बताए ।

‘चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउने बेलामै मैले भनेको थिएँ । नेपालको अर्थतन्त्र सुधारका लागि अहिलेको नेपालको कानुनको सुधार मात्रै गरेर समस्या हल हुने मैले देखेको छैन । यसबाट एउटा मेजर अप्रेसन जरुरी छ । त्यो भनेको अहिलेसम्म हामीले अपनाएको नीतिले के गर्‍यो र अब अपनाउने नीति के हुने भन्ने कुराबारे बताएको थिएँ,’ सम्बोधनका क्रममा उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम बनाउने प्रक्रिया र विधिमा पनि गम्भीर आत्मासमीक्षा गर्दै नीतिमा बोल्ड निर्णय गर्नुपर्छ भनेर प्रतिनिधिसभामा बोलेको थिएँ ।’