९ कार्तिक २०८१, शुक्रबार 1729887271
Banner

मनाङ एयरका घाइते पाइलटलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाइँलाई थप उपचारका लागि भारत लगिएको छ । उनलाई आइतवार बिहान मुम्बई लगिएको उनको उपचारमा संग्लग्न ह्याम्स अस्पतालले जनाएको छ ।

अस्पतालले शनिवार साँझ विज्ञप्ति जारी गर्दै थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको जानकारी दिएको थियो । शनिवार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाइँलाई उद्धार गरी उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो । उनको उपचार इमर्जेन्सी कक्षमा शुरू गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

पाइलट सेढाइँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्थामा रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘साथै फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि उनको समस्या छ । उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिवार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा दुर्घटना भएको थियो ।