९ कार्तिक २०८१, शुक्रबार 1729889463
Banner

एनआरएनएको ११ औं विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ एनआरएनएको ११ औं विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

सम्मलेनको उद्घाटन आज बिहान ९ बजे होटल सोल्टीमा राष्ट्रपति रामचन्द्र पौडलले गर्नेछन् भने कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्नेछन्।

एनआरएनएले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ। सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रुपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित गैरआवासीय एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आयोजना हुन लागेको हो।

सम्मेलनकै दौरानमा आज र भोलि विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ। ​

यसैगरी कात्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताए। ​ एनआरएनएको अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएका छन्। महाविधेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएको एनआरएनए सचिवालयले जनाएको छ।

एनआरएनएमा अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ६ सचिव र एक कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ।​

पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्।

संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको तथा नेपालमा आएका मतदाताका लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको प्रवक्ता सापकोटाले बताए।

एनआरएनको निर्वाचित पदाधिकारीको ३ गते शपथग्रहणसँगै साझ ५ बजे समापन हुने आयोजकले जनाएको छ ।