९ कार्तिक २०८१, शुक्रबार 1729858049
Banner

अहिले संसदमा बोलेको भन्दा पहिले टेलिभिजनमा बोलेको प्रभावकारी थियो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले सांसदहरुको आवाज नसुनेको गुनासो गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सभापति लामिछानेले संसदमा भन्दा आफ्नो आवाज टेलिभिजनमा काम गर्दा प्रभावकारी भएकाे बताए ।

उनले संसद्ले जनप्रतिनिधिको आवाज सुनेको छैन भने नागरिकको आवाज कसरी सुन्छ भन्दै प्रश्न गरे । पार्टीले पटक–पटक दर्ता गराएको संकल्प प्रस्तावलगायत विषय सरकारले छलफलमा नल्याएको उनले उल्लेख गरे ।

‘मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई प्रश्न सोध्छौँ, ताकि उहाँहरूबाट जवाफ आउन सकोस्, नागरिकलाई आश्वस्त पार्न सकियोस् । तर, दुःखका साथ भन्छु– यो संसद्ले हामी जनप्रतिनिधिको आवाज सुनेको छैन, नागरिकको आवाज के सुनेको छ,’ उनले भने, ‘योभन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथे । नागरिकको समस्याहरू सुल्झाउने काममा योभन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ ।’

ठूला दलहरूमा व्यवस्था गुम्छ कि भन्ने चिन्ता बढेको उनको भनाइ छ । कसका कारणले व्यवस्था गुम्ने हो भन्दै उनले प्रश्न समेत गरे । व्यवस्था अरूका कारण कि तपाईं हाम्रो चरित्रका कारण खतरामा छ भन्दै उनले थप प्रश्न गरे ।

‘यसमा प्राथमिकता दिएको भए यसमा चिन्ता गर्नुपर्ने थिएन । व्यवस्था जोगाएका छौँ कि आफ्नो मान्छे ?,’ उनले भने, ‘साँच्चै मुलुकको चिन्ता हुन्थ्यो भने जेलमा बसेको मान्छे छुटाउने चिन्ता हुने थिएन ।’