१० कार्तिक २०८१, शनिबार 1729945030
Banner

ट्रकको ठक्करबाट सुर्खेतका एउटै परिवारका पाँचजनाको मृत्यु

काठमाडौं । ट्रकले ठक्कर दिँदा भारतमा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँचजनाको मृत्युु भएको छ । भारतको कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका–७ का एउटै परिवारका पाँचजना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुर्खेत चौकुने–७ अमलाटाकुराका २७ वर्षीय रतन नेवारसहित उहाँकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उहाँका छोरा पाँच वर्षीय मिलन, अर्का छोरा दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने–७ का वडाध्यक्ष धनिराम धमलाले बताउनुभयो । मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचार गराई रहनुभएको र बिरामी दाइलाई भेट्न उनीहरु फर्किने बेलामा ट्रकले ठक्कर दिइएको जानकारी प्राप्त भएको वडाअध्यक्ष धमलाले जानकारी दिनुभयो । मृतक नेवारका परिवार एक वर्षदेखि रोजगारीका लागि भारत गएका थिए ।

चौकुने घरमा बुढा बुबाआमा मात्रै रहेको जनाइएको छ । बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमलाले बताउनुभयो । घटनाको अनुसन्धानका लागि त्यहाँको प्रशासनसँग माग गरिएको त्यहाँ रहेका नेपालीलाई उदृत गर्दै वडाध्यक्ष धमलाले बताउनुभयो ।