काठमाडौं । मुन्दु गाँउमा भएको सामूहिक हत्यामा संलग्न दुई जना पक्राउ परेका छन्। प्रहरीले पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनिक गरेको छ। उनीहरूले ब्यक्तिगत रिसइबी र सुन लुट्ने योजनासहित हत्या गर्ने जेठ महिनामा योजना बनाएको पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ।
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय मनोज, ७ वर्षीया अप्सरा र ५ महिने रहरको हत्या आरोपमा नातेदार दुई जना पक्राउ परेका हुन । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाका ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुन्दुका ३१ वर्षीय गोपालबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका गोपाल मृतक श्रीदेवीका मामाका छोरा हुन ।
अभियुक्त सार्वजनिक गर्ने क्रममा प्रहरीले दिएको जानाकारीअनुसार मृतक श्रीदेवीका श्रीमान दीपक बोहोरा रोजगारका लागि कतारमा थिए । गोपाल पनि कतारमा दुई वर्ष बसेर फर्किएका थिए । गोपालले दीपकलाई भिसा पठाइदिन आग्रह गरेका थिए । दीपकले उनको सो आग्रह अस्वीकार गरेपछि रिसाएको अनुसन्धानबाट देखिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालका अनुसार त्यही रिसिइबीका गोपालले कारण परिवारकै हत्या गर्ने योजना बनाएको देखिएको छ । प्रहरीका अनुसार हत्या गर घरमा लुटपाट गर्ने योजना पनि बनाएको देखिएको डिआइजी ढकालले बताए ।
राम्रो कमाइ गरिरहेका दीपकको घरमा नगद र सुन हुन सक्ने अनुमानमा हत्या गर्न गोपालले बाँकेबाट गोर्खराज शाहीलाई पनि बोलाएका थिए । प्रहरीका अनुसार दिपकको परिवारको हत्या गर्ने योजना उनीहरूले जेठमै गरेका थिए । त्यसबेला नै श्रीदेवीसँग १०÷१२ तोला हुनसक्ने भएकोले लुट्ने सोचेका थिए । तर त्यतिबेला श्रीदेवी गर्भवती रहेको हुँदा हत्या नगरी फर्किएको अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीका अनुसार फेरि असोजमा भेटेर उनीहरूले कात्तिकमा हत्या गर्ने भनेर योजना बनाएका थिए ।
योजनाअनुसार गोर्खबहादुर सुर्खेतबाट कात्तिक ५ गते मुगुका लागि हिँडेका थिए । भोलिपल्ट पुगेका उनले गोपाललाई भेटेर उनको घरको भुइँ तलामा रहेको खरायोको खोरमा बसेका थिए । त्यसपछि कात्तिक ७ गते दिनभर मुन्दुस्थित एक सामुदायिक विद्यालयनजिकै खोलामा लुकेर पुनः गोठमै आएर बास बसेका थिए ।
दसैंको टीका लगाएर कात्तिक ८ गते साँझ श्रीदेवी माइतीबाट फर्किएपछि सोही राती हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । त्यही दिन माइतबाट फर्केपछि उनीहरू घरभित्र प्रवेश गरेर चारै जनाको हत्या गरेको प्रहरीको भनाई छ । हत्यापछि उनीहरूले श्रीदेवीको फोन, साढे २ तोला सुनको रिङ र २५ लालको घाँटीमा रहेको तिलहरी लुटेर भागेका थिए ।
घटनापछि गोर्खबहादुर मुगु र जुम्लाको सिमाना भुलभुलेसम्म हिँडेर पुगे भने त्यहाँबाट सुर्खेत जाने बस चढेर कात्तिक ९ गते सुर्खेत पुगेका थिए । त्यसपछि उनले श्रीदेवीको फोनको सिम निकालेर आफ्नो सिम राखेको देखिएको प्रहरीले जनाएको छ । दुई साताको अनुसन्धानपछि प्रहरीले बिहिवार अर्थात कात्तिक २३ गते नेपालगन्जबाट गोर्खबहादुरलाई पक्राउ गरेको थियो । उनीबाट एक लाख ७९ रुपैयाँ, नेपाली राहादानी बरामद भएको छ। उक्त रकम उनले सुन बेचेर लिएका थिए ।
उनले घटनास्थलमा गलबन्दी छाडेका थिए । अभियुक्तले गलबन्दी आफ्नो भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत मुगुबाट ११ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।