२८ जेष्ठ २०८३, बिहिबार 1781173787
Banner

सरकार चलाउनेहरु नालायक भए भन्दैमा एमाले हेरेर बस्न सक्दैन :एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार चलाउनेहरू नालायक भए भन्दैमा एमाले सामाजिक अराजकता टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।

शनिवार केन्द्रीय कार्यालयमा आयोजित जनसंगठन पदाधिकारीहरूको विशेष भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्

महासचिव पोखरेलले भने, ‘हामी सत्तामा छैनौँ त्यसैले केही वास्ता छैन भनेर बस्न मिल्छ? यो सरकार नालायक भयो भन्दैमा एमाले गैर जिम्मेवार बन्न सक्छ ? समाजलाई सही बाटोमा हिँडाउने दायित्व राज्यसत्ताको हो भनेर हामी उदासीन बन्न सक्दैनौँ । शासकहरूका कर्मले फैलिएको निराशा र अराजकतालाई चिर्नका लागि कोही न कोही त अगाडि आउनुपर्छ । त्यो कोही न कोही भनेका एमालेका युवा विद्यार्थी हुन् ।

महासचिव पोखरेलले सरकार चलाउनेहरूको कमजोरी र उदासीनताका कारण मुलुक धेरै खाले अराजकता र साम्प्रदायिक विद्वेषतर्फ गइरहेको भन्दै एमाले यस्तो अवस्थामा चुप लाग्न नसक्ने बताए ।

अहिले मुलुकमा एमाले र नेपाली सेना दुई वटा शक्तिमाथि आक्रमण भइरहेको भन्दै यी दुई शक्तिलाई कमजोर पार्दा नेपाल राष्ट्र कमजोर हुने भएकाले यी घटना बढिरहेको पोखरेलले बताए ।