८ कार्तिक २०८१, बिहिबार 1729829788
Banner

गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन– वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । 

मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत रहेका छन्। 

उपमहानिर्देशक ढकालले आइतबार चितवन आएर स्थलगतरूपमा काम सुरु गर्ने बताए। घटनास्थलको अध्ययन र सरोकारवालासँग छलफल गरी घटनाबारे वस्तुस्थिति हेरिने उनले बताए। आवश्यक प्रमाण संकलन गरी भएका कमी-कमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने छ ।

राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानविन गर्न समिति गठन गरिएको हो । गत बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको वडेला खोला नजिकै छ र १८ वर्ष उमेरका पोथी गैँडा मारिएको अवस्थामा फेला पारिएका थिए । छ वर्षे गैँडा तीन दिन  र १८ वर्षे गैँडा मारिएको १० दिन पछाडि फेला पारिएको अनुमान गरिएको छ ।