७ मंसिर २०८१, शुक्रबार 1732333041
समाचार

दुर्गा प्रसाईंलाई सुनिल शर्माको साथ, बल्खुका घाइतेको केएमसी अस्पतालले निःशुल्क उपचार गर्दै

काठमाडौं । गणतन्त्रको विकल्पको माग गर्दै दुर्गा प्रसाईंको अगुवाईमा भएको प्रदर्शनका क्रममा घाइते भएकाको काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने भएको छ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.सुनिलकुमार शर्मा सञ्चालक रहेको केएमसी अस्पतालमा घाइतेको निःशुल्क उपचार गर्ने भएको हो ।

सांसद शर्माले दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनप्रति आफ्नो समर्थन नभई मानवीय दृष्टिकोणले आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गरिने बताए । उनले व्यवस्था परिवर्तन लागि नभइ देशमा मौलाएको भ्रष्टाचार, विकृति र कुशासनका विरुद्धमा आवाज उठाउनेप्रति आफ्नो एक्यबद्धता र समर्थन रहने बताए ।

उनले देशभित्रका खुरापातिहरुलाई देशनिकाला गर्नुपर्ने बताए । आफू व्यवस्थाको विरोधी नभएर व्यवस्थाभित्रका विकृति, खुरापातिको विरुद्ध रहेको उनको भनाई छ । उनले भने, ‘ म व्यवस्था परिवर्तनको विरुद्धमा छैन । देशमा प्रजातन्त्रको विकल्प छैन । दुर्गा प्रसाईंसँग व्यक्तिगत रुपमा विचारमा मेरो फरक मत भएपनि मानवीयताका आधारमा सहयोग गर्नुपर्छ भन्ने मान्यता मैले बोकेको छु ।’

सांसद डा.शर्माले आफू प्रजातन्त्रवादी भएकाले दुर्गा प्रसाईंलाई आफूले प्रजातन्त्रको पक्षमा लाग्न सधैं आग्रह गर्दै आएको बताए । उनले यसअघि गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पका परी घाइते भएकाको निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए ।

व्यवस्था परिवर्तनका लागि भन्दै प्रसाईंको नेतृत्वमा काठमाडौं उपत्यका केन्द्रित प्रदर्शन भइरहेको छ । बिहीबार दिउँसो काठमाडौंस्थित बल्खुमा भएको प्रदर्शनका क्रममा झपड हुँदा पाँचजना प्रहरीसहित २८ जना घाइते भएका छन् । झडपमा प्रहरीतर्फ पाँच जना र प्रदर्शनकारीतर्फ २३ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रदर्शनकारीतर्फ घाइते भएकामध्ये १७ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अन्य ६ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।