३ भदौ २०८३, बुधबार 1787150396
Banner

गभर्नर हटाउने निर्णयप्रति अध्यक्ष ओलीको टिप्पणी : धान खाने मुसो, चोट पाउने भ्यागुतो

काठमाडौँ । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको छ। शनिबार काठमाडौँको तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उहाँले देशको अर्थतन्त्र जोगाउनका लागि प्रयास गरिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले यसलाई ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखानसँग तुलना गर्नुभयो। उहाँले भन्नुभयो, ‘हिजो मात्रै हामीले देख्यौँ, थुतुनाभरि रौँ भएको मुसाले धान खायो। एउटै रौँ नभएको भ्यागुतालाई कारबाही गर्‍यो। धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि। त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो। अनि उखान जस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाही गर्‍यो ।’

‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुका हातमा परेको छ’, ओलीले भन्नुभयो, ‘देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, एउटा अर्थविद्, अर्थशास्त्री र राष्ट्र बैंकबाटै डेपुटी गभर्नर समेत भएर हटेका र अर्थतन्त्र बुझेका मान्छेलाई निलम्बन गरियो।’

उहाँले छानबिन समितिप्रति पनि आशंका व्यक्त गर्नुभयो। माओवादीले नियुक्त गरेको र माओवादी निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा एउटा छानबिन समिति बनाएको उहाँले बताउनुभयो ।