पोखरा- नेकपा एमालेले समृद्धिका लागि संकल्प भन्ने नारा सहित सुरु गरेको मध्यपहाडको यात्रा आज कास्कीबाट पोखरा जाँदैछ । यात्राको नवौं दिन आज गण्डकी प्रदेशको यात्रा समापन हुनेछ ।
आजको यात्रा पोखराबाट सुरु भएर नयाँपुल,रामटार,काँडे र भोर्लेटारमा नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुसँग भेटघाट हुनेछ । बिहानको खाना लम्जुङको सुन्दर बजारमा हुनेछ भने यही ठाउँमा आमसभा पनि हुने पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओली सहितको केन्द्रीय टिम आज गोरखामा बास बस्नेछ ।
मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु भएको यो यात्रा पूर्वी सिमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुष १ गते सकिने छ ।
सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने भन्ने मुल नारा लिएर मध्यपहाडको जनजनीवन,राजनीति,समस्या,समाधानका उपाय आदिका बारेमा स्थानीबासीहरुसँग अन्तरक्रिया गर्ने उद्धेश्यले यात्रा आयोजना गरिएको एमालेले जनाएको छ ।