१९ आश्विन २०८३, सोमबार 3:19 am
समाचार

नेवार समुदायले आज यःमरि पुन्हि मनाउँदै

काठमाडौँ – काठमाडौँ  उपत्यका लगायत देशभर छरिएर रहेका नेवार समुदायले आज यःमरि पुन्हि मनाउँदै छन् । ‘य:’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो । 

यो पर्व नेपाल सम्बतको दोस्रो महिना तथा थिंला पूर्णिमाको पहिलो पूर्णिमा (अर्थात धान्य पूर्णिमा)को दिनमा मनाउने गरिन्छ। उपत्यकाका ज्यापु समुदायले यसलाई ज्यापु दिवसका रुपमा पनि मनाउने गर्दछन्। यःमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारिक रूपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पूर्णिमा पनि भनिन्छ ।

यो दिनमा विशेष प्रकारको योमरी नामक परिकार बनाएर खाने चलन छ। योमरी तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार हो। जुन नयाँ भित्र्याइएको धानको चामलबाट बनाइन्छ।

यो तेल या अन्य चिल्लोपना नभएको परिकार स्वास्थ्यका हिसाबले हितकारी छ । ​​​​​​​यःमरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झैँ यःमरिलाई पनि पानीको बाफमा पकाउने गरिन्छ ।

आज साँझ टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने प्रचलन छ। यो एक प्रकारले देउसी, भैलो जस्तै प्रचलन हो।

यःमरिको त्रिकोणात्मक आकारले षट्कोणको अर्ध भागको रूपमा ज्ञानकी देवी सरस्वतीको प्रतिबिम्बको रूपमा लिने गरिन्छ ।

नेवार समुदायमा प्रचलित कथाअनुसारः धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडिरहेको बेलामा उनलाई सत्कार स्वरूप यःमरि खान दिइएको र त्यसपछि कुवेरले प्रसन्न भएर धनधान्यले अपार वरदान दिएको मानिन्छ ।

आजको दिन अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा यःमरि चढाउने परम्परा चली आएको हो  ।