९ मंसिर २०८१, आइतबार 1732432738
Banner

कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै, शीर्ष नेता सहभागि हुने

काठमाडौँ– नेपाली कांग्रेसले आज ४७औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा मनाउँदै आएको छ ।

कांग्रेसले आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा लोकतन्त्र प्राप्तिका लागि पटकपटक भएका आन्दोलनमा योगदान गरेका, वृहत शान्ति सम्झौताका पक्षधरलगायत राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ । कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायत दलका शीर्ष नेताहरूलाई बोलाइएको कांग्रेसले जनाएको छ ।

तर, राप्रपा, रास्वपालगायत दललाई भने बोलाइएको छैन । कार्यक्रममा बोलाउने दलहरूको निश्चित मापदण्ड तोकिएकाले केही दल छुटेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले शासन आफ्नो हातमा लिएर तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल पठाएका थिए ।

२०२५ कात्तिक १४ गते बीपी जेलमुक्त भए लगत्तै भारत गएका उनी ८ वर्ष निर्वासित भए । तर राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अँगाल्दै २०३३ साल पुस १६ गते बीपी स्वदेश फर्किएका थिए ।